Tuesday, June 2, 2026
Zenith Migration Education
Tuesday, June 2, 2026

मचाडोद्वारा पुरस्कार बाँड्ने प्रस्ताव गरेको राष्ट्रपति ट्रम्पको दाबी

Zenith Migration Education

वासिङ्टन । भेनेजुयलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार आफुसँग बाँड्ने प्रस्ताव गरेका र आगामी हप्ता हुने भेटका क्रममा उनलाई आफ्नो पुरस्कार दिन सक्ने सङ्केत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् ।

राष्ट्रपति ट्रम्पले भनेयो, “म बुझ्छु कि उहाँ त्यसो गर्न चाहनुहुन्छ । त्यो ठूलो सम्मान हुनेछ ।” यद्यपि, ओस्लोस्थित नोबेल इन्स्टिच्यूटले एक व्यक्तिबाट अर्को व्यक्तिलाई पुरस्कार हस्तान्तरण गर्न नसकिने बताएको छ ।

“नोबेल पुरस्कारलाई न खारेज गर्न सकिन्छ न अरुलाई हस्तान्तरण गर्न सकिन्छ,” नोबेल इन्स्टिच्युटका प्रवक्ता एरिक आसेमले भने ।

“एक पटक पुरस्कार विजेताको घोषणा गरिसकेपछि निर्णय सदाको लागि लागु हुन्छ,” उनले भने, “यद्यपि पुरस्कार रकमबारे पुरस्कार विजेताहरू आफूले चाहेको कुरा गर्न स्वतन्त्र छन् ।”

बिहीबार ट्रम्पले आफूले पुरस्कार जित्न नसक्नु नर्वेको कमजोरी भएको र यो उसका लागि ‘ठूलो लज्जा’ भएको बताएका थिए ।

स्क्यान्डिनेभियन देश (नर्वे)को संसदले पाँच सदस्यीय समितिको चयन गर्ने भए पनि नोबेल पुरस्कार प्रदान गर्ने समितिले भने आफ्नो निर्णय नर्वे सरकारबाट पूर्ण रूपमा स्वतन्त्र भएर गर्न सक्छ ।

नर्वेका विदेश मामिला हेर्ने राज्य सचिव इभिन्ड भाड पिटर्सनले एएफपीसँग भने, “नोबेल समितिको निर्णयसँग नर्वेको कुनै हस्तक्षेप हुँदैन ।”

ट्रम्प र मचाडोबीच आगामी हप्ता भेटवार्ता हुँदै
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाकी विपक्षी नेतृ मचाडोसँग अर्को साता वासिङ्टनमा भेटवार्ता गर्ने भएका छन् ।
एकवर्ष भेनेजुएलामा भूमिगत रूपमा रही हालै गोप्य रूपमा ओस्लोमा पुगेका मचाडो र अमेरिकी राष्ट्रपति ट्रम्पबीच अमेरिकी सेनाले भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गरेको एक हप्तापछि भएको यो पहिलो बैठक हो ।

फक्स न्यूजका प्रस्तोता सिन ह्यानिटीसँगको अन्तर्वार्तामा ट्रम्पले भने, “मैले बुझेको छु उहाँ अर्को हप्ता आउँदै हुनुहुन्छ र म उहाँलाई स्वागत गर्नेछु ।”

ट्रम्पले गत हप्ता भनेका थिए, “मचाडोलाई भेनेजुएलाभित्र देशको नेतृत्व गर्न सम्मान वा समर्थन छैन । त्यसैले अमेरिकाले भेनेजुएलालाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने र उहाँका लागि समर्थन जुटाउने काम गर्नेछ ।”

मदुरोका अन्तरिम नेता डेल्सी रोड्रिगेजको नेतृत्वमा रहेको दक्षिण अमेरिकी देश नयाँ निर्वाचन गराउने अवस्थामा नरहेको उनले बिहीबार फक्स न्यूजसँग बताए ।

उनले भने, “हामीले देश पुनर्निर्माण गर्नुपर्छ । उनीहरूले चुनाव गर्न सक्दैनन् । उनीहरूलाई अहिले चुनाव कसरी गर्ने भन्ने पनि सोच्न सकिरहेका छैनन् ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु