Friday, May 29, 2026
Zenith Migration Education
Friday, May 29, 2026

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप

Zenith Migration Education

मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त राज्य अमेरिका र इरानले एक अर्कालाई जारी युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन्।

पछिल्लो आरोप प्रत्यारोप अमेरिका र इरानबीच अप्रिल ८ मा युद्धविराम सुरु भएपछिको सबैभन्दा गम्भीर आरोप हो। यसले युद्ध अन्त्यका लागि जारी वार्ता प्रयासलाई प्रभावित पारेको छ।

अमेरिकी सहयोगी कुवेतले इरानले तनावलाई ‘खतरनाक वृद्धि’ तर्फ धकेलेको आरोप लगाएको छ। इजरायलले देशको दक्षिणी भागलाई युद्ध क्षेत्र घोषणा गरेपछि र बेरुत नजिकै आक्रमण बढाएपछि लेबनानी क्षेत्रमा तनाव चर्किएको छ।

बिना अनुमति स्ट्रेट अफ हर्मुज पार गर्न खोज्ने चार वटा जहाजमाथि इरानी सेनाले गोली चलाएको इरानी सरकारी प्रसारक आइआरआइबीले बिहीबार जनाएको छ। इरानले युद्ध सुरु भएदेखि अर्थात् फेब्रुअरी २८ देखि नै जलमार्गमा नाकाबन्दी गर्दै आएको छ।

अमेरिकी सेनाले भनेको छ, ‘आफ्नो समूहले हर्मुज र वरपरका पाँच वटा ड्रोनहरूको आक्रमण र बन्दर अब्बासको दक्षिणी बन्दरगाह क्षेत्रको भू-नियन्त्रित स्टेशनबाट छैटौं आक्रमणलाई रोकेको थियो।’

बन्दर अब्बासमा भएको आक्रमणले इरानलाई ‘आक्रमणको स्रोतको रूपमा रहेको अमेरिकी सैन्य हवाई अड्डा’लाई निशाना बनाउन प्रेरित गरेको इरानको रिभोलुसनरी गाड्र्सलाई उद्धृत गर्दै आइआरआइबीले लेखेको छ।

गाड्र्सले सैन्य आधार कहाँ छ भनेर स्पष्ट पारेको छैन, तर अमेरिकी सेनालाई आफ्नो भूमिमा शिविर राख्न दिएको कुवेतले आफ्नो हवाई प्रतिरक्षाले आक्रमणको जवाफ दिएको बताएको छ।

कुबेतको विदेश मन्त्रालयले पछि ‘कुवेतको भूमिलाई लक्षित गरी मिसाइल र ड्रोनद्वारा गरिएको आपराधिक आक्रमणको निन्दा गर्दै यसले खाडी क्षेत्रमा खतरनाक द्वन्द्वको वृद्धि गरेको बताएको थियो।

अमेरिकी सेन्ट्रल कमान्डले इरानी आक्रमणलाई ‘युद्धविराम उल्लङ्घन’ भनेको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले तेहरानले ‘आफ्नो राष्ट्रिय सम्प्रभुताको रक्षाका लागि सबै आवश्यक उपायहरू अवलम्बन गर्ने’ बताए।

अमेरिकी अधिकारीले एएफपीसँग युद्धविरामको रक्षा गर्ने उद्देश्यले इरानमा कारबाही गरिएको बताएका थिए। इरानका गाड्र्सले बिहीबार थप आक्रमण भएको खण्डमा ‘कडा प्रतिक्रिया’ दिने चेतावनी दिएको छ।

यस भिडन्तले द्वन्द्वलाई औपचारिक रूपमा अन्त्य गर्ने उद्देश्यका साथ भइरहेको वार्ताको अनिश्चिततालाई सङ्केत गरेको छ। यद्यपि, कुनै पनि पक्ष पूर्ण युद्धमा फर्कन उत्सुक देखिएका छैनन्।

बिहीबारको हमलाअघि इरानको राजधानीमा रहेका २७ वर्षीय सफ्टवेयर डेभलपर आमिरले युद्धविराम र सम्झौताको चर्चाका बाबजुद नयाँ लडाइँको डर सधैँ रहेको बताए।

‘मलाई लाग्छ, केही पनि निश्चित छैन, उनले भने, सर्वसाधारणको अहिले दैनिक प्रश्न के हुने गरेको छ भने के आज राति मिसाइल आक्रमण हुनेछ ?’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु