Wednesday, April 29, 2026
Zenith Migration Education
Wednesday, April 29, 2026

अष्ट्रेलियामा नेपाली ख्रीष्टियन समुदायले श्रद्धा र उल्लासका साथ ख्रीष्टमस मनाउँदै

Zenith Migration Education

सिडनी— आज डिसेम्बर २५ का दिन संसारभर येशू ख्रीष्टको जन्मोत्सव ख्रीष्टमस बाइबलको शिक्षाअनुसार श्रद्धा, विश्वास र उल्लासका साथ मनाइँदै छ। बाइबलमा उल्लेख भएअनुसार (लुका २:११) स्वर्गदूतले भनेका छन्—

“नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ।”

यसै सुसमाचारको सन्देशसँगै विश्वभरका ख्रीष्टियन समुदायले प्रार्थना, आराधना र प्रेमको भावना व्यक्त गरिरहेका छन्।

यसै क्रममा अष्ट्रेलियामा रहेका नेपाली ख्रीष्टियन समुदायले पनि ख्रीष्टमसलाई विशेष महत्वका साथ मनाइरहेका छन्। सिड्नीको ओबर्नस्थित Gospel Nepali Church ले गत वर्षहरूकै निरन्तरतामा यस वर्ष पनि बिहीबार दिउँसो ३ बजेदेखि ख्रीष्टमस कार्यक्रम भव्य र आत्मिक रूपमा आयोजना गर्ने तयारी पूरा गरेको आयोजकले जनाएको छ।

चर्चमा आयोजना हुने ख्रीष्टमस कार्यक्रममा प्रार्थना र आराधनासँगै सुसमाचारिय गीत–संगीत, युवा तथा सामूहिक नृत्य प्रस्तुति, प्रवचन, शुभकामना आदान–प्रदान तथा प्रेम भोज समावेश गरिएको छ। विशेषगरी युवायुवतीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप जीवन्त र अर्थपूर्ण बनाउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार नेपाली समुदायको बाक्लो उपस्थिति रहने विश्वास लिइएको छ।

पाष्टर जीवन रायमाझीको नेतृत्वमा सञ्चालन हुँदै आएको यस मण्डलीमा प्रेम, एकता र आपसी सम्मानको वातावरण सधैं देखिँदै आएको बताइन्छ। उल्लेखनीय रूपमा, चर्चमा सहभागी हुने करिब ९९ प्रतिशत सदस्यहरू युवायुवती रहेको तथ्यले नेपाली युवामाझ ख्रीष्टियन विश्वास र आत्मिक जागरण बढ्दो क्रममा रहेको संकेत गर्दछ।

यसैबीच, अष्ट्रेलियाभर नेपाली भाषी मण्डलीहरूको संख्या वृद्धि हुँदै गएको छ, जसले प्रवासी नेपाली समुदायमा धार्मिक, सांस्कृतिक र सामाजिक एकताको भूमिकालाई थप सुदृढ बनाउँदै लगेको देखिन्छ। प्रेम, शान्ति र उद्धारको सन्देश बोकेको ख्रीष्टमसले यस वर्ष पनि नेपाली समुदायबीच आशा, सद्भाव र आत्मिक उत्साह फैलाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु