Saturday, May 30, 2026
Zenith Migration Education
Saturday, May 30, 2026

जाँचबुझ आयोगले आईजीपीसँग सोध्यो २४ घण्टे स्पष्टीकरण

Zenith Migration Education

जेनजी आन्दोलनमा भएका घटना जाँचबुझ आयोगलाई असहयोग गरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई स्पष्टीकरण सोधिएको छ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आईजीपी खापुङलाई २४ घण्टे स्पष्टीकरण सोधेको आयोगका प्रवक्ता पूर्वएआईजी विज्ञानराज शर्माले बताए।

आयोगले प्रहरीलाई यी विवरण माग गर्दै सुरुमै पत्राचार गरेको थियो। तर झण्डै एक महिना लगाएर प्रहरीले जवाफ दिए पनि माग गरेका विवरण उपलब्ध नगराएको आयोगको गुनासो छ। प्रहरीले जेनजी आन्दोलनका क्रममा प्रहरी महानिरीक्षकदेखि जवानसम्म देशैभरका प्रहरी फिल्डमै खटिएको जवाफ आयोगलाई दिएको थियो।

प्रहरीको यो जवाफपछि आयोग असन्तुष्ट बनेको हो। पछि आयोगले फिल्डमा खटिएका प्रहरी कमाण्डरहरुको विवरण माग गरेपछि प्रहरी प्रधान कार्यालयले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई पत्राचार गर्दै जाँचबुझ आयोगले जुनसुकै बेला बयानमा बोलाउन सक्ने भन्दै तत्काल उपत्यका नछाड्न परिपत्र गरेको थियो।

जेनजी आन्दोलनका बेला उपत्यकाका बृत्तहरुमा खटिएका इन्चार्जहरु परिवर्तन भइसकेका छन्। काठमाडौँ प्रहरी प्रमुख विश्वराज अधिकारी पनि सरुवा भइसकेका छन्।

जेनजी आन्दोलनमा अत्याधिक बल प्रयोग भएको दिन भदौ २३ गतेका उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख समेत रहेका डीआईजी ओम रानालाई भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ।

जाँचबुझ आयोगले बुधबार मात्रै नक्खु जेलबाट फरार भएको विषयमा पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ। यसअघि नक्खु कारागारका जेलरसँग बयान गराएको थियो।

अन्यसँग पनि आवश्यकता अनुसार बयान गर्ने आयोगका प्रवक्ता शर्माले बताए। तर अब सुरुमा प्रहरीका फिल्ड कमाण्डरको बयान हुने पनि शर्माले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु