सिड्नी — अष्ट्रेलियामा रहेर पत्रकारिता र समुदायसेवामा सक्रिय सञ्चारकर्मी तथा अष्ट्रेलियन नेपाली पत्रकार संघ (ANJA) का संस्थापक हेमन्त काफ्लेले नेपाल भ्रमणका क्रममा सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलसँग आज बिहान भेट गरेका छन्।
राजनीतिक र पारिवारिक भेटघाटका सिलसिलामा केही साताका लागि नेपाल पुगेका काफ्लेले पुराना सहपाठीसमेत रहेका मन्त्री खरेलसँग पछिल्लो राजनीतिक परिवेश, एनआरएन नागरिकता र प्रवासी नेपालीको भूमिकाबारे विस्तृत छलफल गरेका थिए।
भेटमा अष्ट्रेलियामा बढ्दो नेपाली समुदायको उपस्थिति, एनआरएन नागरिकता लिएपछि भीषा लिनुपर्ने कानुनी बाध्यता, र मुलुकको समसामयिक अवस्थाबारे समेत चर्चा भएको थियो।
मन्त्री खरेलले तोकिएकै समयमा निर्वाचन हुने उल्लेख गर्दै सबै राजनीतिक दललाई सहभागी गराउने तयारी भइरहेको बताए। उनले भने,
“आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूलाई पनि सहभागी गराउने वातावरण मिलाउने प्रयास भइरहेको छ।”
उनले प्रवासी नेपालीबीच एकता र समन्वय आवश्यक रहेको उल्लेख गर्दै भने,
“एनआरएन फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ। यो संस्था विश्वभर रहेका नेपालीहरूको साझा संस्था र गौरव हो।”
त्यस अवसरमा काफ्लेले अष्ट्रेलियामा बढ्दो नेपाली जनसंख्या, विद्यार्थीहरूले सामना गरिरहेका चुनौती, एनआरएनएको क्रियाकलाप र प्रवासमा भइरहेको पत्रकारिताबारे जानकारी गराएका थिए।
काफ्लेले भने,
“अष्ट्रेलियाका पत्रकारहरूले सुरुदेखि नै नेपाली समाचार र समुदायका विषयलाई प्राथमिकता दिँदै आएका छन्। प्रवासमा रहेर पनि नेपाल र नेपालीप्रतिको समर्पण निरन्तर छ।”
मन्त्री खरेलले प्रवासमा रहेर देश र समाजका लागि योगदान दिइरहेका सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन गर्दै भने,
“सञ्चारकर्मीहरूको भूमिकाले विदेशमा नेपालको पहिचान र सम्मान थप मजबुत बनाएको छ।”



