Monday, July 27, 2026
Zenith Migration Education
Monday, July 27, 2026

शहीद परिवारले बुझाए दुई मन्त्रीलाई ध्यानाकर्षण पत्र 

Zenith Migration Education

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारले गृह र अर्थमन्त्रीलाई भेटेर न्यायका लागि दबाब दिएका छन् ।

शनिबार उनीहरुले सिंहदरबार पुगेर गृहमन्त्री ओमप्रकाश अर्याल र अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

गत भदौ २३ र २४ गतेको आन्दोलनमा आफ्ना परिवारका सदस्य गुमाएका पीडितहरुले सरकारबाट न्याय, क्षतिपूर्ति र छानबिनको माग गर्दै मन्त्रीहरूसँग प्रत्यक्ष भेटवार्ता गरेका हुन् ।

ध्यानाकर्षण पत्र बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शहीद परिवारका सदस्य गणेश चौलागाईंले माग पूरा नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । उनले भने, ‘दुई–चार दिनमा हामीले बुझाएको ध्यानाकर्षण पत्रको नतिजा आएन भने हामी आन्दोलनमा जान तम्तयार भएका छौं ।’

त्यस्तै, अर्का शहीद परिवारका सदस्य कमल सुवेदीले गृहमन्त्रीसँग छानबिन प्रक्रियाबारे पनि छलफल भएको बताए । उनले भने, ‘गृहमन्त्रीले प्रक्रिया अगाडि बढिरहेको जानकारी दिनुभयो । हामी आशावादी छौं दुवै मन्त्रीले हाम्रो पीडा बुझ्नुहुनेछ ।’

यसैगरी शहीद परिवारकी रचना खतिवडाले दोषिलाई कारवाही गरिनुपर्ने बताइन् । उनले यो सरकारले आफ्ना बच्चाहरुलाई न्याय दिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘दोषिलाई कारवाही गरिनुपर्छ । अहिलेको मन्त्रीहरुले काम गरिरहनु भएको छ । यस्तो पीडामा हाम्रो कुरा सुनिदिनु हुनेछ भन्ने विश्वास छ । अरु केही नभए पनि यो सरकारले हाम्रो बच्चाहरुलाई न्याय दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु