काठमाडौँ । नेपाल राष्ट्र बैङ्क तथा वित्तिय संस्थाहरुले दशैँका लागि सुकिला नोट सटही सुरु गरेको छ । राष्ट्र बैङ्कका उप–प्रवक्ता सुमन न्यौपानेले आइतबारदेखि दशैँलक्षित सुकिला नोट वितरण सुरु भएको जानकारी दिए ।
उनकाअनुसार प्रति प्याकेट १८ हजार पाँच सय रुपियाँको सुकिला नोट वितरण गरिएको छ । उनले भने, “नोट सटही सुरु भएको छ । थापाथलीस्थित नेपाल राष्ट्र बैङ्क र प्रदेश कार्यालयहरुबाट वितरण भइरहेको छ ।”
उनले राष्ट्र बैङ्कले अन्य बैङ्कहरुलाई सुकिलो नोट उपलब्ध गराएको छ भने उक्त बैङ्कहरुले तोकिएको शाखाबाट नोट सटही गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।
सर्वसाधारणले आफ्नो खाता भएको सम्बन्धित बैङ्कबाट सुकिला नोट प्राप्त गर्न सक्ने उनको भनाइ छ । उनले असोज १० गतेसम्म नयाँ नोट सटही गर्न सकिने जानकारी दिए ।



