Sunday, May 31, 2026
Zenith Migration Education
Sunday, May 31, 2026

कतार इजरायलबीचको कूटनीतिक दूरी बढ्दै, गाजा युद्ध अझै जटिल बन्दै

Zenith Migration Education

वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल भ्रमणअघि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग महत्त्वपूर्ण भेटवार्ता गरेका छन् । यो भेटले अमेरिका, कतार र इजरायलबीचको संवेदनशील कूटनीतिक सन्तुलनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

उक्त भेटपछि रुबियो आइतबारदेखि दुई दिने इजरायल भ्रमणमा जाने छन्, जहाँ उनले इजरायली नेतृत्वसँग क्षेत्रीय सुरक्षा, गाजा युद्धसम्बन्धी वर्तमान अवस्था तथा बन्धक मुक्तिका सम्भावनाबारे छलफल गर्ने छन् ।

ट्रम्प प्रशासनको संवेदनशील सन्तुलन प्रयास
हालै इजरायलले कतारको राजधानी दोहामा हमासका नेताहरूलाई लक्षित गरी गरेको कारबाहीका कारण कतार, साउदी अरेबिया र युएईजस्ता खाडी मुलुकहरूमा असन्तुष्टि देखिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उक्त कारबाहीले अमेरिका वा इजरायलको दीर्घकालीन हितमा योगदान नपुर्‍याउने टिप्पणी गरेका छन् ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले समेत उक्त आक्रमणको आलोचना गर्दै संयम अपनाउन आग्रह गरेको छ।

कतारका प्रधानमन्त्रीले सुरक्षा परिषद्को बैठकमा बोल्दै गाजामा रहेका बन्धकहरूको सुरक्षाप्रति चासो व्यक्त गर्नुभएको छ र कूटनीतिक प्रयासहरू जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

इजरायली नेताहरूसँग गाजाबारे छलफल
विदेश मन्त्रालयका अनुसार, रुबियोको इजरायल भ्रमणका क्रममा उनले गाजामा इजरायलको रणनीतिक लक्ष्य, बन्धक मुक्ति प्रयास तथा प्यालेस्टाइनी राज्यका सम्बन्धमा युरोपेली मुलुकहरूको सम्भावित मान्यताबारे अमेरिकी धारणा स्पष्ट पार्नेछन् ।

उनले हमासद्वारा अपहरणमा परेका व्यक्तिहरूका परिवारसँग पनि भेट गर्ने छन्, जसले बन्धकहरूको सुरक्षित फिर्ती अमेरिका र इजरायल दुवैका लागि उच्च प्राथमिकता भएको सन्देश दिन मद्दत गर्नेछ ।

रुबियो यरुशलेमस्थित ऐतिहासिक स्थल ‘सिटी अफ डेविड’को भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ, जुन इजरायल र प्यालेस्टाइनबीचको विवादास्पद क्षेत्र मानिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु