सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नयाँ निर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । शनिबार एक कार्यक्रमबीच एनआरएनएन अष्ट्रेलियाका पूर्वअध्यक्ष अनिल पोखरेलले नवनिर्वाचित अध्यक्ष सन्तोष कुँवर र नयाँ टिमलाई पदभार हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा अष्ट्रेलियन लिबरल पार्टीका सांसद तथा छायामन्त्री मार्क कुरेले देशको बहुसांस्कृतिक समाजमा नेपालीको पहिचान महत्त्वपूर्ण रहेको बताए । नेपाली काममा इमानदार मात्र नभई पढाइमा अब्बल रहेका बताउँदै उनले आफ्नो पार्टीले नेपाली समाजलाई महत्त्वका साथ हेरेको उल्लेख गरे ।
यस्तै, लेबर पार्टीकी राज्य सांसद जुलिया फीनले एनआरएनए र नेपाली समाजसँग आफूले लामो समयदेखि सहकार्य गर्दै आएको बताइन् । अष्ट्रेलियामा तीव्र रूपमा नेपाली समाजको विस्तार हुँदै जाँदा यसको महत्त्व पनि बढेको उनले बताइन् ।
सांसद फीनले आफ्नो संसदीय क्षेत्रमा नेपालीको बलियो उपस्थिति रहेको उल्लेख नेपालीको साथ र समर्थन आफूले पाउँदै आएकामा उनले खुसी व्यक्त गरिन् ।
कार्यक्रममा नेपालबाट आएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्न एनआरएनएले खेलेको भूमिकाको प्रंशसा गरे । कोइरालाले आफू पनि दुई दशकअघि अध्ययनका क्रममा अष्ट्रेलियामै रहेको स्मरण गरे ।
उद्घाटन, बन्दसत्र र समापन ढाँचामा आयोजित कार्यक्रममा अष्ट्रेलियाको मुख्य राजनीतिक दलका नेता, सामाजिक अभियन्ता तथा पर्थ, मेलबर्न ब्रिसबेन, तास्मनिया, एडिलेड, क्यानबेरालगायत राज्यबाट करिब ४ सय प्रतिनिधिको सहभागिता थियो ।
एनआरएनए अष्ट्रेलियाको नवनिर्वाचित अध्यक्षमा ब्रिसबेनका कुँवर, उपाध्यक्षमा मेलबर्नका बबिन मिश्र, महासचिवमा क्यानबेराका चूडामणि सापकोटा, सचिवमा सिड्नीका कल्याण खड्का, कोषाध्यक्षमा निजन चौलागाइँ छन् ।
यस्तै, राज्य संयोजकमा एनएसडब्ल्यूका उषाकिरण वारिया पोखरेल, पश्चिम अष्ट्रेलियाबाट सुमन सन्जेल, दक्षिण अष्ट्रेलियाबाट थिर गुरुङ, भिक्टोरियाबाट महादेव धानुक, क्यापिटल टेरोटोरीबाट ललित मल्ल, युवा संयोजकमा पुकार घिमिरे, उपसंयोजकमा मनीष सिग्देललगायत नवनिर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथ लिएका थिए । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष हुने व्यवस्था छ ।
सो अवसरमा एनआरएनएले दिँदै आएको NRNA Austrelia Excellence Award 2025 बाट विभिन्न विधाका उत्कृष्टहरुलाई सम्मानित गरेको छ । यसका लागि ग्रेस इन्टरनेशनलका संस्थापक प्रबन्ध निर्देशक आरसी पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिकी सचिव निरु त्रिपाठीले अवार्ड कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।
जसअन्तर्गत Media person of the yesr बाट पत्रकार गणेश भट्ट, Arts and Culture Contribution Award बाट कलाकार जेनिशा गौतम र Presidential Award समाजसेवी प्रकृति श्रेष्ठलाई प्रदान गरिएको छ ।



















