Saturday, December 13, 2025
Zenith Migration Education
Saturday, December 13, 2025

अध्यागमन विभागद्वारा विदेशी नागरिकलाई कारवाही, ३ देखि ११ वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध

Zenith Migration Education

काठमाडौँ । अध्यागमन विभागले नेपालमा भिसाको उद्देश्य विपरीत बस्दै गैर कानुनी गतिविधिमा संलग्न विदेशी नागरिकलाई कारवाही गरेको छ । विभागले फ्रान्स, ईण्डोनेशिया र अमेरिकाबाट नेपाल आएका केही नागरिकलाई जरिवाना सहित देश निकाला गरेको हो ।

उनीहरूले पर्यटक तथा अध्ययन भिसा लिएर नेपाल प्रवेश गरे पनि व्यवसाय सञ्चालन, नगद तथा डिजिटल कारोबारमा संलग्न, कुरान र टर्किस भाषा पढाउने, धर्म प्रचार गर्ने, बालगृहका बालबालिकालाई इसाई धर्म सिकाउने जस्ता गतिविधि गर्दै आएको पाइएको विभागले जनाएको छ ।

भिसाको प्रयोजन विपरीत धर्म परिवर्तन, सन्दिग्ध आचरण र प्रत्यक्ष व्यावसायिक गतिविधि सञ्चालन गरेको प्रमाण भेटिएपछि उनीहरूलाई देश निकाला गरिएको अध्यागमन विभागका एक अधिकारीले जानकारी दिए ।

कारवाही अनुसार तीन वर्षसम्म पुनः नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरिएको छ भने कतिपयलाई ११ वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ। साथै ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

विभागले भिसाको दुरुपयोग गर्ने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिँदै नेपालमा बस्ने विदेशी नागरिकलाई नियम–कानुनको कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु