Friday, April 17, 2026
Zenith Migration Education
Friday, April 17, 2026

आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन विद्यादेवी भण्डारीको अनुरोध

Zenith Migration Education

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन अनुरोध गरेकी छन् । शुक्रबारबाट ललितपुरको गोदावरीमा सुरु भएको दोस्रो विधान अधिवेशनमा सहभागी हुन वञ्चित भएपछि उनले पत्रमार्फत शुभकामना सन्देश पठाएकी थिइन् ।

उनले आज भने एक भिडिओ सन्देशमार्फत एमाले र आफ्नो उद्देश्य एउटै भएकाले सधैँ सँगै रहने बताएकी छन् ।

‘पार्टीले मलाई राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनाएर पठाएको हुनाले राष्ट्रिय जिम्मेवारीमा रहेँ । त्यतिबेला हाम्रो भेटघाटहरू कम भएको हुनसक्छ । तथापि हाम्रो उद्देश्य एउटै हो । हामी सधैँ सँगै नै छौँ । यहाँहरूलाई मैले प्रत्यक्ष भेटघाट गर्न नपाए पनि मैले भेटेसरह नै मानेको छु,’ भण्डारीले भनेकी छन् ।

विधान महाधिवेशनका प्रतिनिधिहरूलाई भण्डारीले भावनात्मक र संगठनात्मक हिसाबले अघि बढ्न आग्रह गरेकी छन् ।

‘मैले यहाँहरूलाई हिजोमात्रै पत्रमार्फत आफ्ना विचार राखेको छु । यहाँहरूले अध्ययन गर्नुभएकै होला । यहाँहरूको उपयुक्त सल्लाह, सुझाव पनि अपेक्षा गरेको छु,’ भण्डारीले थप भनेकी छन्, ‘नेकपा एमालेको काँधमा देशको ठूलो जिम्मेवारी छ । त्यो पूरा गर्न यहाँहरू भावनात्मक र संगठनात्मक हिसाबले अघि बढ्नुस् । म पनि सधैँ यहाँहरूकै साथमा हुनेछु ।’

नेकपा एमालेको सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेको थियो । बिहीबार साँझ बसेको सचिवालय बैठकले पार्टीले कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय केन्द्रीय कमिटीको अधिकार क्षेत्रभित्र पर्ने र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नभएको अवस्थामा विधान अधिवेशनमा एजेण्डा पनि बन्न नसक्ने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु