Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

मिनी नेपालः अष्ट्रेलियामा नेपालीपनको प्रतिविम्ब

Zenith Migration Education

आदरणीय गुरुज्यू, अग्रज मान्यजन, एनआरएनए अध्यक्ष तथा पदाधिकारीज्यू र प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू,

म जन्मथलो रामेछापको माटोमा हुर्किएको नेपाली हुँ । वंशजको नाताले गर्वका साथ आफूलाई नेपाली भन्छु, तर सन् २००३ देखि अष्ट्रेलियामा स्थायी रूपमा बसोबास गर्दै आएको वर्तमानमा अष्ट्रेलियन नागरिक पनि हुँ । मानव भएर जन्मेपछि जन्मदिने आमा र जन्मभूमिलाई माया गर्नु हाम्रो परम कर्तव्य हो भन्ने मेरो विश्वास छ ।

हामी नेपालीहरू सन् २००० अघि–पछिदेखि विभिन्न कारणले नेपाल छोडेर अष्ट्रेलिया आएका छौँ । देश–देशान्तरमा गए पनि हाम्रो जरा नेपालमै गाडिएको छ । नेपाल परमेश्वरको अनुपम उपहार हो—सगरमाथा, शान्तिका दूत गौतम बुद्धको जन्मभूमि लुम्बिनी, हिमाल–पहाड–तराई, चार जात छत्तीस वर्णको साझा फूलबारी । यही फूलबारीलाई हामीले जहाँ बसे पनि शान्तिमय, समृद्ध र गौरवशाली बनाउनुपर्छ ।

मिनी नेपालको सपना
मेरा लागि मात्र नभई हामी सबैका लागि आवश्यक कुरा हो—“मेरो भन्दा हाम्रो” भन्ने सोच । धर्म, जात, पार्टीभन्दा माथि उठेर आफ्नो भाषा, संस्कृति, परम्परा, भेषभूषा, परिकार र संस्कारलाई संरक्षण गर्दै त्यसलाई दोस्रो पुस्तामा हस्तान्तरण गर्नु पहिलो कर्तव्य हो ।

यही सोचका आधारमा मैले २०१७ देखि “मिनी नेपाल” को सपना बोकेको छु । मिनी नेपाल भन्नाले अष्ट्रेलियामै नेपाल जस्तो अनुभव गर्न सकिने स्थल—नेपालकै नक्सा झल्काउने बगैँचा, नेपाली कला–संस्कृति, मठ–मन्दिर, समाज–संस्था र बहुसंस्कृतिक केन्द्र । यस्तो स्थानमा विश्वभरबाट आएका पर्यटकहरू नेपाल नगएता पनि नेपाललाई अनुभूति गर्ने मौका पाउनेछन् ।

त्यसैगरी, त्यहाँ छुट्टी मनाउन सकिने ‘होलिडे हाउस’ निर्माण गर्ने, बुढेसकालमा परिवारसहित बस्न मिल्ने ‘एज्ड केयर’ सुविधा विकास गर्ने सोच रहेको थियो । यसलाई दिगो बनाउन व्यावसायिक मोडेल पनि आवश्यक हुनसक्छ ।

धर्म, कर्म र समाजप्रतिको दायित्व
हामीमध्ये धेरैजना झोला र केही सय डलर लिएर अष्ट्रेलिया आएका थियौँ । आज हाम्रो जीवन स्तर फेरिएको छ । घर, गाडी, लाखौँको सम्पत्ति । तर गाउँमा अझै हलो जोतेर जीवन धानिरहेका हाम्रै साथीहरू पनि छन् ।

अष्ट्रेलियामा सामाजिक सुरक्षा प्रणाली बलियो छ । यहाँ सम्पत्ति सङ्कलन गर्नु केवल आफ्नै सन्तानका लागि होइन, समाज, धर्म र अरुहरुका लागि पनि हुनुपर्छ । जीवनमा कमाएको केही अंशमध्ये सकेसम्म १० प्रतिशत वा नसके करिब १–२ प्रतिशत भए पनि पुण्य काममा लगाउन सके जीवन धन्य हुन्छ ।

कात्रोमा गोजी र कफिनमा लकर पनि नहुने भएकाले बाँचुन्जेल गरेको धर्म–कर्म, सेवा र योगदानले मात्र आत्मालाई शान्ति र स्वर्ग पुर्याउँछ ।

त्यसैले “हामीले गर्छौं–गर्छौं र सक्छौं–सक्छौं” भन्ने भावना बोकेर हामी सबै मिलेर मिनी नेपाल बनाउन सघाउनुपर्छ ।

किन आवश्यक मिनी नेपाल
दोस्रो पुस्तालाई जोड्न र अष्ट्रेलियाका बसोबास गर्ने नेपाली नागरिक, अष्ट्रेलियान नागरिक र विश्वबाट अष्ट्रेलिया आउने विदेशी पर्यटकहरुलाई मिनी नेपालमा एक चोटी भ्रमण गराउनका लागि मिनी नेपाल आवश्यक छ । यसबाट पर्यटकहरु प्रभावित हुनुका साथै नेपालको पर्यटन उद्योगमा अप्रत्यक्ष फाइदा हुन्छ ।

मिनी नेपाल निर्माणका लागि मैले ११ हजार एक सय ११ डलर सहयोग गरेको छु ।

व्यक्तिगत प्रतिवद्धता
सन् २०२३ को तीज कार्यक्रमका सिलसिलामा यसलाई मूर्त रुप दिन १००० डलरदेखि १ लाखसम्म लगानी गर्ने अठोट गरेको थिए । जब मिनी नेपालको अवधारणा अगाडि बढ्दै गयो तब १५०० डलर जम्मा गरी पारिवारिक सदस्यता लिइ १०००० डलर व्यक्तिगत योगदान गर्ने योजना बनाएको थिए । तर हाल आएर मिनी नेपाल निर्माणका लागि विश्वास बढ्दै गई ११,१११ सहयोग गर्ने प्रतिबद्धता जाहेर गरी सकेको छु । साथै आगामी दिनमा व्यवसायीक मोडेलमा परियोजना अगाडि बढेमा अर्थात् आर्थिक सङ्कट परेर काम अगाडि बढ्न कठिन भयो भने घर नै बेचेर भए पनि एक लाख डलरसम्म योगदान गर्ने दृढ सङ्कल्प गर्दछु ।

सामूहिक आह्वान
मात्र केही व्यक्तिको योगदानले यो सपना साकार हुँदैन । त्यसैले हरेक नेपालीले चिनेजानेका साथीभाई, आफन्त, चिरपरिचितलाई पनि यो अभियानमा सहभागी गराउनुपर्छ । जसरी चुनावमा भोट मागिन्छ, त्यसरी नै मिलेर मिनी नेपाल बनाउन हातेमालो गर्नुपर्छ ।

म विश्वास गर्छु—हामी सबै मिलेर अष्ट्रेलियामा “मिनी नेपाल” निर्माण गर्न सक्यौँ भने त्यो हाम्रो जन्मभूमि नेपालकै गौरव हुनेछ ।
(लेखक : विष्णु खत्री)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु