Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

अफगानिस्तान भूकम्प : मृत्यु हुनेको सङ्ख्या आठ सयभन्दा बढी, दुई हजार घाइते

Zenith Migration Education

नुर्गल (अफगानिस्तान) । अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० भन्दा बढी पुगेको छ । भूकम्पमा परी दुई हजारभन्दा बढी मानिस घाइते भएका छन् ।

भूकम्पको कम्पन अफगानिस्तानको काबुलदेखि पाकिस्तानको इस्लामावादसम्म महसुस गरिएको छ । आइतबार मध्यरात करिब पौने १२ मा गएको ६।० म्याग्नीच्यूडको भूकम्पका कारण मध्यरातमा र पहाडी क्षेत्रमा रहेका कच्ची घरहरू भत्किएपछि सुतेका परिवारका सयौँ सदस्य हताहत भएको सोमबार जनाइएको छ । भूकम्पको केन्द्रविन्दु जलालाबादबाट करिब २७ किलोमिटर टाढा रहेको युएसजिएसले जनाएको छ ।

भूकम्पका कारण धेरै स्थानमा पहिरो गएको र सीमति रूपमा चल्ने यातायातका साधनको आवागमनमा समेत समस्या भएको छ । भूकम्पपछि ठूलो उद्धार कार्य जारी रहेको तालिबान अधिकारीहरूले बताएका छन् ।

भूकम्पको असर काबुलदेखि छिमेकी पाकिस्तानको राजधानी इस्लामावादसम्मका भवनहरूमा स्पस्ट देख्न सकिन्छ।

भूकम्पले अफगानिस्तानका कम्तीमा पाँच वटा प्रान्तमा हताहती र विनास निम्त्याएको र उद्धारकर्ताहरूले सोमबार साँझसम्म पनि भत्किएका घरहरूबाट मानिसहरूलाई उद्धार गरी हेलिकोप्टरमार्फत् उपचारका लागि नजिकका सहरमा लगिएको छ ।

पूर्वी कुनार प्रान्तका विपद् व्यवस्थापन प्रमुख एहसानुल्लाह एहसानले एएफपीसँग भने, “खोजी कार्य जारी छ । धेरै मानिस उनीहरूको घरको भग्नावशेषमा फसेका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमानहरू गरिएको छ।”

तालिवान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदका अनुसार भूकम्पको केन्द्रविन्दु नजिकै रहेको कुनारमा मात्रै करिब ८०० जनाको मृत्यु भएको छ भने दुई हजार ५०० जना घाइते भएका छन् ।

त्यस्तै छिमेकी प्रान्त नांगरहारमा १२ जनाको मृत्यु भएको छ भने २५५ जना घाइते भएका छन् भने लगमान प्रान्तमा ५८ जना घाइते भएका छन् ।

कुनारको नुर्गल जिल्लाको वादिर गाउँमा आसपासका दर्जनौं बासिन्दाले उद्धारकर्मीहरूलाई भत्किएका घरहरूको भग्नावशेषबाट मानिसहरूलाई बाहिर निकाल्न मद्दत गरेको एएफपीले सार्वजनिक गरेका तस्बीरमा देख्न सकिन्छ ।

धेरै घाइतेहरूलाई नान्गाहार प्रान्तको जलालाबाद शहरका अस्पतालहरूमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु