नयाँ दिल्ली । अमेरिकाले भारतबाट आयात हुने थुप्रै वस्तुहरूमा ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने निर्णय गरेपछि भारतका वाणिज्य मन्त्री पियुष गोयलले नयाँ दिल्लीमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै भने, “भारत सधैं निष्पक्ष र सम्मानजनक व्यापारमा विश्वास राख्छ । तर हामी कहिल्यै झुक्दैनौं, न त कमजोरी देखाउँछौं ।”
उाका अनुसार भारतले अन्तर्राष्ट्रिय बजारमा नयाँ सम्भावनाको खोजी गर्दै विश्वव्यापी निर्यात विस्तारमा केन्द्रित हुनेछ । उक्त भन्सार शुल्क अमेरिकाले भारतले रुसबाट आयात गर्ने कच्चा तेललाई कारण देखाउँदै लगाएको हो । यो कदमसँगै भारत–अमेरिका व्यापार सम्बन्धमा केही तनाव देखिएको छ ।
भारतले यसअघि नै ती शुल्कहरूलाई ‘अन्यायपूर्ण र अविवेकी’ भन्दै असहमति जनाएको थियो ।
अहिले दुबै मुलुकबीच कृषि र डेरी क्षेत्रको पहुँचबारे भएको व्यापार वार्ता पनि निष्कर्षमा पुग्न सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी उत्पादनलाई भारतीय बजारमा बढी पहुँच दिन चाहन्छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशका किसानहरूको हित जोगाउन प्राथमिकता दिएका छन् ।
सन् २०२४ मा अमेरिका भारतको सबैभन्दा ठूलो निर्यात गन्तव्य बनेको थियो, जहाँबाट ८७ अर्ब अमेरिकी डलरभन्दा बढीको वस्तु निर्यात गरिएको थियो । विश्लेषकहरू यति ठूलो भन्सार शुल्कले खासगरी साना उद्योग र निर्यातकर्तालाई गम्भीर असर पार्न सक्ने बताए ।
पहिले नै कपडा, गहना र समुद्री उत्पादन निर्यात गर्ने व्यवसायीहरूले अमेरिकी अर्डरहरू रद्द भएको र प्रतिस्पर्धी राष्ट्रहरू जस्तै बंगलादेश तथा भियतनामले त्यसको फाइदा उठाएको बताए । मन्त्री गोयलले सरकार चाँडै नै सबै क्षेत्रका निर्यातकर्ताहरूलाई सहयोग गर्ने विशेष योजना ल्याउन लागेको जनाए ।
उनले भने, “म विश्वस्त छु, चालु वर्षमा भारतको निर्यात अघिल्लो वर्षको तुलनामा अझ बढ्नेछ ।”



