युएई । कुवेतमा विषाक्त मदिरा सेवन गरेर श्रीमान्को मृत्यु भएको खबर सुनेर नेपालमा रहेकी श्रीमतीको समेत ज्यान गएको छ । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका धनकुटा महालक्ष्मी नगरपालिका–१ कटहरेका ४३ वर्षीय डम्बर मगरको १० दिन अघि कुवेतमा विषाक्त मरिदा सेवाका कारण ज्यान गएको थियो ।
श्रीमान्को मुत्युको खबर सुनेलगत्तै बेहोस भएकी उनकी पत्नी विद्याको तीन दिनपछि मृत्यु भएको हो । श्रीमान श्रीमती दुवैको मृत्यु भएपछि उनीहरुको तीन छोरीको विचल्ली भएको छ । कमाउने सदस्य गुमेपछि परिवार आर्थिक सङ्कटमा परेको छ ।
जेठी र माइली छोरी हाल कक्षा १२ र ११ मा अध्ययनरत छन् भने कान्छी छोरी दुई वर्षकी छन् । हाल छोरीहरुको पालनपोषण र पढाइका लागि स्थानीयस्तरमा सहयोग सङ्कलन सुरु भएको छ ।
डम्बरको शव भने अझै कुवेतमै छ । १० दिन पहिले कुवेतमा अवैध तथा विषाक्त मदिरा पिउँदा चार जना नेपाली भाषीसहित १२ जना नेपालीको ज्यान गएको थियो । सो घटनामा अन्य देशका गरी २३ जना आप्रवासी कामदारको मृत्यु भएको थियो ।



