Tuesday, May 26, 2026
Zenith Migration Education
Tuesday, May 26, 2026

माओवादीको जागरण अभियान २२ गते लमजुङबाट सुरु हुने

Zenith Migration Education

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले मध्य पहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान फेरि थाल्ने भएको छ । हालै बसेको स्थायी कमिटी बैठकको निर्णय अनुसार भदौ २२ गते लमजुङबाट अभियान सुरु गर्न लागिएको महासचिव देव गुरुङले बताए ।

महासचिव गुरुङले अभियानको कार्यतालिका पनि तय भइसकेको बताए । उनका अनुसार भदौ २१ गते बेलुका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली लमजुङ बास बस्ने, २२ गते लमजुङ खण्डमा कार्यक्रम आयोजना गर्ने र बेलुका गोरखा बास बस्ने, २३ गते गोरखा खण्डमा कार्यक्रम आयोजना गर्ने र बेलुका धादिङ बास बस्ने गर्ने तय भएको छ ।

यस्तै, भदौ २४ गते धादिङ खण्डमा कार्यक्रम आयोजना गर्ने र बेलुका नुवाकोट बास बस्ने र २५ गते दिनभर नुवाकोट खण्डमा कार्यक्रम आयोजना गर्ने र बेलुका काठमाडौँ फर्कने तय भएको उनले बताए । उनका अनुसार बाँकी जिल्लाहरूको कार्यक्रम पछि तय गरिनेछ ।

सबै जिल्लाहरूमा एक–एक सार्वजनिक संवादको कार्यक्रम र एकरएक आन्तरिक संगठनात्मक तथा प्रशिक्षण मूलक कार्यक्रम गर्ने, सार्वजनिक कार्यक्रमहरूमा सर्वपक्षीय प्रतिनिधिमूलक सहभागितालाई जोड दिने निर्देशन दिएका छन् ।

अभियानमा ‘प्रचण्ड’सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पार्टी उपाध्यक्ष र महासचिव रहनेछन् । माओवादीले तराई मधेस जागरण अभियानपछि मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान थालेको थियो । अहिले वर्षाको कारणले केही समय रोकेर फेरि सुरु गर्न लागेको हो । अभियानले पार्टीप्रति आकर्षण बढेको माओवादीको निष्कर्ष छ ।

यसअघि माओवादीले अभियानमा उपमहासचिव तहसम्मका पदाधिकारीलाई अभियानमा समेटेको थिए । तर, अहिले प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच वाकयुद्ध चलिरहेको बेलामा अभियानमा महासचिवसम्म मात्रै सहभागी हुन सर्कुलर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु