सल्यान । सल्यानको शारदा नगरपालिका–१२ तिमिलेबाट श्रीनगरतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । बिहीबार दिउँसो लु १ ज २३६८ नम्बरको जीप रेसमज्युला नजिकै ग्रामीण सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जीप अनियन्त्रित भएर सडकदेखि करिब ५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । जीपमा २० जना सवारमध्ये १९ जना घाइते भएका छन् ।
घाइते सबैको शारदा नगरपालिका–१ श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिएका छन् ।
उनका अनुसार जीप चालक शारदा नगरपालिका–६ बस्ने २३ वर्षीय सुरेश बुढाथोकीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



