Tuesday, May 26, 2026
Zenith Migration Education
Tuesday, May 26, 2026

नेपालमा अब १८ देखि ३५ वर्ष उमेर समूहकालाई युवा भनिने

Zenith Migration Education

काठमाडौँ । अब नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहका लाई ‘युवा’ भनिने भएको छ । मन्त्रिपरिषद् बैठकबाट हालै स्वीकृत राष्ट्रिय युवा नीति–२०८२ मा नेपाली युवाको उमेर १८–३५ वर्ष कायम भएकाले अब सोही समूहकालाई ‘युवा’ भनिने छ ।

यसअघि क्रियाशील रहेको राष्ट्रिय युवा नीति–२०७२ मा युवाको उमेर समूह १६–४० वर्ष थियो ।

परिमार्जित राष्ट्रिय युवा नीतिमा भनिएको छ, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसङ्ख्यालाई युवा मानिनेछ ।’

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार राष्ट्रिय रुपमा बालबालिका ऐनले १८ वर्षसम्मकालाई बालबालिका मानेको र अन्तर्राष्ट्रिय परिवेशलाई समेत मध्यनजर गरेर युवाको नयाँ परिभाषा गरिएको हो ।

युवा नीति २०८२ ले युवालाई सक्षम र जिम्मेवार बनाई राष्ट्र निर्माणमा युवाको सार्थक सहभागिता र भूमिका बढाउने विषयलाई मुख्य ध्येय बनाएको छ ।

२०७८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्ष जनसङ्ख्या ४२.५६ प्रतिशत थियो । परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले अब नयाँ युवा नीति अनुसारको युवाको जनसङ्ख्या निकाल्न आग्रह गरिएको बताए ।

बालबालिकासम्बन्धी ऐनमा बालबालिकाको उमेर १८ सम्म भएको हुनाले १८ बर्षदेखि ३५ उमेर समूहलाई युवामा राखिएको उनको भनाइ छ । संयुक्त राष्ट्रय सङ्घले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषा गरेको छ । भारतमा १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मान्दै आएको छ ।

परिषद्का उपाध्यक्ष बस्नेतले ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ संशोधन नभएसम्म युवाको उमेर कानूनी रुपमा भने १६ देखि ४० वर्ष हुने बताए । “युवा नीति अनुसार ऐन संशोधन गर्नुपर्दछ,” उनले भने ।

प्रत्येक पाँच–पाँच वर्षमा युवा नीति परिमार्जन गर्नुपर्ने भए पनि १० वर्षपछि नीति संशोधन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु