सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टर भिक्टोरया (एएनएमसी) लाई १२ हजार डलर हस्तान्तरण गरेको छ ।अगष्ट २४ मा सेन्टरमा आयोजित एक कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल लगायत टिमले एएनएमसीका अध्यक्ष तिलक पोखरेललाई सो रकम हस्तान्तरण गरेका हुन् ।
एनआरएनएले प्रति सदस्य पाँच डलर राज्यको मल्टिकल्चरल सेन्टरहरुलाई दिने नीतिअन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै एनआरएनए अध्यक्ष पोखरेलले प्रवासमा नेपाली कला, धर्म, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यका साथ स्थापित बहुसांस्कृतिक केन्द्रलाई यहाँका नेपालीहरुको प्रमुख आस्थाको केन्द्र बनाउन सबै लाग्नुपर्ने कुरामा जोड दिए ।
साथै उनले मेलबर्नमा रहेको बहुसांस्कृतिक केन्द्रबाट नै आफुले दुई वर्षअघि चुनावी अभियान सुरु गर्न पाएको र अहिले लगभग कार्यकालको अन्तिममा आउँदा यहीँ कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गरे ।

यसैगरी, कार्यक्रममा भिक्टोरियाका राज्यका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौलीले सामुदायिक केन्द्रको भौतिक पूर्वाधार निर्माणमा सबैले आआफ्नो ठाउँबाट सक्दो साथ र सहयोग गर्नुपर्ने बताए ।
एएनएमसीका अध्यक्ष पोखरेलले सहयोगका लागि एनआरएनए अष्ट्रेलियाप्रति आभार व्यक्त गर्दै केन्द्रले आफ्नो उद्देश्य र लक्ष्य प्राप्तिका लागि समुदायसँग हातेमालो गर्दै अगाडि बढ्ने उल्लेख गरे ।
यसैगरी, कार्यक्रममा बोल्दै एनआरएन भिक्टोरियाका डेप्युटी कोअर्डिनेटर महादेव धानुकले एनआरएनए अष्ट्रेलियाले नीतिगत निर्णय नै गरेर सबै राज्यका सदस्यहरुको सदस्यता शुल्कबाट पाँच डलर त्यहीँ राज्यमा भइरहेको नेपाली सांस्कृतिक केन्द्र वा मन्दिरहरु निर्माणमा सहयोग गर्ने भएकाले आगामी दिनमा पनि यो निरन्तर रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा उपस्थितहरुलाई संस्थाकी सहकोषाध्यक्ष मनिषा उप्रेतिले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष सुधीर शाक्यले गरेका थिए ।
कार्यक्रममा बहुसांस्कृतिक केन्द्रका पदाधिकारी, सल्लाहकारहरु, अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका संरक्षक चिरञ्जीवी देवकोटा, न्याभकी उपाध्यक्ष जेनिसा गौतम लगायतको उपस्थिति रहेको थियो ।



