Friday, June 26, 2026
Zenith Migration Education
Friday, June 26, 2026

अमेरिकामा अवैध बसोबास गर्ने आप्रवासीको सङ्ख्या एक करोड ४० लाख

Zenith Migration Education

वासिङ्टन । प्यु रिसर्च सेन्टर (पीआरसी) ले अमेरिकामा अवैध रूपमा बसोबास गर्नेहरूको सङ्ख्या एक करोड ४० लाख रहेको जनाएको छ । यो हालसम्मकै उच्च हो ।

पीआरसीले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, २०२३ मा उक्त सङ्ख्या एक करोड ४० लाख पुगेको छ । जुन २०२२ को भन्दा २२ लाखले बढी हो ।

यसअघि २००७ मा अवैध आप्रवासीको सङ्ख्या १ करोड २२ लाखसम्म पुगेको पीआरसीको रिपोर्टमा उल्लेख छ  । पछिल्लो समय आप्रवासीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुनुमा पछिल्लो समय झन्डै ६० लाख जना कुनै न कुनै प्रकारको कानुनी संरक्षणमा अमेरिका जानुलाई मानिएको छ  । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा पदभार सम्हालेपछि भने उनी अवैध आप्रवासीप्रति निर्मम हुँदै धेरैजसो यस्ता संरक्षणका प्रावधानहरू हटाएका छन् ।

पीआरसीको प्रतिवेदनले २०२४ मा पनि अवैध आप्रवासीको सङ्ख्या बढेको प्रारम्भिक तथ्याङ्क देखाएको छ । यद्यपि तत्कालीन राष्ट्रपति जो बाइडेनले गत जुनमा सीमामा शरण नीतिलाई कडा गरेपछि वृद्धिदर सुस्त भएको थियो । अमेरिकामा मेक्सिकोपछि ग्वाटेमाला, एल साल्भाडोर र भारतबाट सबैभन्दा धेरै अवैध आप्रवासी बसोबास गर्दै आएका छन् ।

भेनेजुएला, क्युबा, कोलम्बिया, निकारागुआ, इक्वेडर, युक्रेन र पेरुबाट आएकाहरूको सङ्ख्या पछिल्लो दुई वर्षमा दोब्बरभन्दा बढी भएको बताइएको छ  । राष्ट्रपति ट्रम्पले गत मार्चमा संसदमा दिएको सम्बोधनमा पनि विगत चार वर्षमा दुई करोड १० लाख मानिस अमेरिका भित्रिएको दाबी गरेका थिए । ‘फेडेरेसन फर अमेरिकन इमिग्रेसन रिफर्म’ ले पनि मार्चमा एक करोड ८६ लाख आप्रवासी रहेको अनुमान गरेको थियो ।

आप्रवासन नियन्त्रणको पक्षमा रहेको ‘सेन्टर फर इमिग्रेसन स्टडिज’ ले गत महिना एक करोड ४२ लाख अवैध आप्रवासी रहेको उल्लेख गर्दै गत जनवरीमा एक करोड ५८ लाखको उच्च बिन्दुबाट घटेको उल्लेख गरेको छ  । गृह सुरक्षा सचिव क्रिस्टी नोमले पछिल्लो ६ महिनामा १६ लाखले कमी आएको दाबी गर्दै यसलाई ‘ठूलो उपलब्धि’ भनेकी छन् । गृह सुरक्षा विभागको कार्यालयले २०२२ मा एक करोड १० लाख अवैध आप्रवासी रहेको अनुमान गरेको थियो भने ‘सेन्टर फर माइग्रेसन स्टडिज’ ले एक करोड २२ लाखको तथ्याङ्क पेस गरेको थियो ।

२०२३ मा अवैध आप्रवासीमध्ये सबैभन्दा ठूलो सङ्ख्यामा ४३ लाख मेक्सिकन रहेको बताइएको छ भने अन्य देशहरूबाट आएकाहरूको सङ्ख्या ९७ लाख छ । क्यालिफोर्निया, टेक्सास, फ्लोरिडा, न्युयोर्क, न्युजर्सी र इलिनोइसमा अवैध आप्रवासीको संख्या सबैभन्दा धेरै छ  । एरिजोना, क्यालिफोर्निया, नेभाडा, न्यु मेक्सिको, न्युयोर्क र ओरेगनमा २००७ को तुलनामा २०२३ मा अवैध आप्रवासीको सङ्ख्या कम रहेको तथ्याङ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु