काठमाडौँ । काठमाडौँको सुनधारास्थित सिभिल मलबाट प्रहरीले ६ थान नक्कली पेस्तोल बरामद गरेको छ । सिभिल मलको पाँचौँ तलामा सन्तोषी श्रेष्ठले सञ्चालन गरेको ‘द टोय स्टोर’बाट अटोमेटिक पेस्तोल जस्तो देखिने नक्कली हतियार बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोराले रातोपाटीलाई बताए ।
हतियार आयात गर्ने र बेच्ने गरेको आरोपमा प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले काभ्रेको रोशी घर भएका ३१ वर्षीय सुरज मगरलाई पक्राउ गरेको छ । बिहीबार पक्राउ गरेर आरोपीबिरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा पाँच दिनका म्याद लिएर अनुसन्धान भइरहेको एसपी बोहराले बताए ।
आरोपीले नेपाली रुपैयाँ पाँच सय एक मा सो हतियार आयात गरेर १४ देखी १९ हजार सम्म लिएर बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । नक्कली भएपनि सो हतियारको तौल प्रहरीले बोक्ने गरेको पेस्तोलसँग मिल्दोजुल्दो रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।



