काठमाडौँ । राजनीतिमा सक्रिय हुन थालेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय बिहीबार उद्घाटन गर्दैछिन् ।काठमाडौँको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा आज सम्पर्क कार्यालय उदघाटन गर्न लागिएको हो ।
यद्यपि भण्डारी पक्षले यसलाई सम्पर्क कार्यालय भनेको छैन । त्यसलाई ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिएको छ । समितिको संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् ।
मूल व्यवस्थापन समितिकी संरक्षक समेत रहेकी विद्यादेवी भण्डारीले आज दिउँसो २ बजे कार्यालय उदघाटन गर्ने संयोजक पौडेलले जानकारी दिए । मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ ।



