काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र मन्त्रालयका सचिव चूडामणि पौडेलबीच मङ्गलबार कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको छ । मन्त्री पन्तले सम्झौता कार्यक्रममा समयमै कार्य सम्पन्न गर्ने निर्देशन दिँदै मन्त्रालयका गतिविधि प्रभावकारी रूपमा अघि बढाउन जोड दिएका छन् ।
यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मात्रै दुई उपप्रधानसहित २० मन्त्रीहरूसँग आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रममा आधारित कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिसकेका थिए। प्रधानमन्त्री र मन्त्रीबीचको सम्झौतापछि मन्त्रालयस्तरमा मन्त्री र सचिव, सचिव र विभागीय प्रमुखबीच तहगत रूपमा सम्झौता गर्ने प्रचलन रहेको छ।
गत आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षासँगै प्रधानमन्त्री ओलीले नयाँ कार्यसम्पादन सम्झौताको प्रक्रिया अघि बढाएका हुन् । यद्यपि, सम्झौताबमोजिम काम भए–नभएको लेखाजोखा गर्ने र त्यसको आधारमा मूल्यांकन गर्ने प्रष्ट व्यवस्था भने अझै बनेको छैन ।



