Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

हमासद्वारा युद्धविरामको प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

Zenith Migration Education

जेरुसेलम । इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव स्वीकार गरेपछि सरकार भविष्यमा गाजामा हुने कुनै पनि सम्झौतामा बन्धक बनाइएका सबैलाई रिहा गर्ने आफ्नो आह्वानमा अडिग रहेको बताएका छन् ।

करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले हमासले नयाँ चरणको वार्ताका लागि तयार रहेको सङ्केत गरेको एक दिनपछि मध्यस्थकर्ताहरूले यो योजनामा इजरायलको आधिकारिक प्रतिक्रियाको प्रतिक्षा गरिरहेका छन् ।

मध्यस्थकर्ता कतारले नयाँ प्रस्तावका लागि आशावादी रहेको बताउँदै यो प्रस्ताव इजरायलले सहमति गरेको पहिलेको संस्करणसँग ‘लगभग मिल्दोजुल्दो’ रहेको उल्लेख गरेको छ ।

नाम नबताउने शर्तमा इजरायलका एक वरिष्ठ अधिकारीले एएफपीसँग कुरा गर्दै सरकारको अडानमा कुनै परिवर्तन नआएको र कुनै पनि सम्झौता गरी बन्धक बनाइएका सबैलाई रिहा गर्न माग गरेका छन् ।

यी दुई शत्रुले युद्ध अवधिभर अप्रत्यक्ष वार्ता गरेका छन् र दुई पटक छोटो समयका लागि युद्धविराम भएको छ । युद्धविरामका क्रममा दर्जनौँ इजरायली बन्धकहरूको बदलामा हजारौँ प्यालेस्टिनी कैदीहरूको रिहा गरिएको थियो तर ती युसद्धविरामले उनीहरूलाई स्थायी युद्धविरामको मध्यस्थता गर्न सफल बनाउन सकेका छैनन् ।

संयुक्त राज्य अमेरिकाको पहलमा कतार र इजिप्टले बारम्बार कूटनीतिक वार्ता गरी युद्धविराम मध्यस्थताका लागि पहल गरेका छन् ।

इजिप्टले सोमबार भनेको छ, “इजिप्ट र कतारले इजरायललाई नयाँ प्रस्ताव पठाएको छ र ‘बल अब उसको कोर्टमा’ छ ।”

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले हमासले ‘निकै सकारात्मक प्रतिक्रिया दिएको र यो वास्तवमै इजरायली पक्षले यसअघि गरेको सहमतिसँग मिल्दोजुल्दो रहेको’ बताएका छन् ।

उनले भने, “हामी कुनै सफलता हासिल भएको दाबी गर्न सक्दैनौं । तर यो सकारात्मक पक्ष हो भन्ने हाम्रो विश्वास छ ।”

इजरायलमाथि बढ़्दो दबाब
इजिप्टको राज्यसम्बद्ध संस्था अल–काहेरा न्यूजको रिपोर्टअनुसार पछिल्लो सम्झौतामा ६० दिनको युद्धविराम, आंशिक बन्धक मुक्त, केही प्यालेस्टाइनी कँैदीलाई मुक्त गर्ने र सहायता प्रवेशका लागि अनुमति दिने प्रावधान प्रस्ताव गरिएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस योजनाबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गर्नुभएको छैन तर गत हप्ता इजरायलले ‘युद्ध अन्त्यका लागि सबै बन्धकहरूलाई एकैपटक रिहा गर्ने सम्झौता’ स्वीकार गर्ने बताएका थिए ।

हमासका वरिष्ठ अधिकारी महमुद मर्दावीले सामाजिक सञ्जालमा लेखेका छन्, “आफ्नो समूहले सम्झौताको सम्भावनाका लागि ढोका खोलेको छ, तर नेतन्याहूले विगतमा जस्तै फेरि एकपटक यसलाई बन्द गर्ने कि नगर्ने भन्ने प्रश्न कायमै छ ।”

नेतन्याहूले युद्ध अन्त्यका लागि देश तथा विदेशमा बढ्दो दबाबको सामना गरिरहेका बेला हमासले यो प्रस्ताव स्वीकार गरेको हो ।

आइतबार इजरायलको तेल अभिव शहरमा दशौँ हजार मानिसले युद्ध अन्त्य गर्न र बन्धक बनाइएका बाँकी बन्धकहरूलाई मुक्त गर्न सम्झौताको माग गर्दै सडकमा प्रदर्शन गरेका थिए ।

सन् २०२३ को अक्टोबरमा हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाइएका २५१ जनामध्ये ४९ जना अझै गाजामै छन्, जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु