सर्लाही । सर्लाहीको हरिपूर्वामा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । शुक्रबार राति हरिपूर्वा नगरपालिका–६, का ४० वर्षीय रामपुकार यादवको अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेको हो ।
शुक्रबार राति करिब ८ बजेतिर घरमा छिमेकीसँग कुराकानी गरेर बसिरहेका बेला मोटरसाइकलमा आएका दुई जना व्यक्तिले रामपुकारलाई गोली प्रहार गरी फरार भएका थिए ।
गोली टाउँको लागि गम्भीर भएका रामपुकारलाई उपचारका लागि महोत्तरीको पर्सास्थित एक स्वास्थ्य संस्थामा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
सर्लाही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले शनिबार बिहान घटनाको प्रकृति मुचुल्का उठाउने काम भइरहेको जानकारी दिए । प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउने तयारी भइरहेको छ ।
त्यस्तै, यादवलाई गोली प्रहार गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोली प्रहार गरेर फरार भएका व्यक्ति सवार मोटरसाइकल हरिपूर्वा नगरपालिका–७ मा दुर्घटनामा परेको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका र उनलाई लालबन्दीमा उपचार गरी थप उपचारका लागि जनकपुर लगिएको डिएसपी राईले बताए ।
प्रहरीले ति व्यक्तिको परिचय भने गोप्य राखेको छ । घाइते व्यक्ति बोल्न सक्ने अवस्थामा छैनन् । गोली प्रहार गर्नेमध्येका अर्का व्यक्ति भने फरार रहेका प्रहरीले बताएको छ ।



