Monday, September 28, 2026
Zenith Migration Education
Monday, September 28, 2026

ट्रम्प र पुटिनको बैठकअघि युक्रेनबारे तत्काल बैठक गर्ने इयूको तयारी

Zenith Migration Education

ब्रसेल्स । युक्रेनबिना गरिने कुनै पनि सम्झौताले युक्रेनलाई अस्वीकार्य सम्झौता गर्न बाध्य पार्न सक्ने डरले युरोपेली सङ्घका विदेशमन्त्रीहरूले राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबीच हुने वार्ताअघि आगामी कदमबारे छलफल गर्न सोमबार आपतकालीन वार्ता गर्ने भएका छन्।

तीन वर्षदेखि जारी युद्ध समाधानका लागि दुई नेताबीच शुक्रबार अलास्कामा भेटवार्ता हुनेछ तर युरोपियन युनियन (इयू) ले भने द्वन्द्व अन्त्यका लागि हुने कुनै पनि सम्झौतामा किएभ र युरोपेली शक्ति सहभागी हुनुपर्नेमा जोड दिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिना अमेरिका र रुसबीच बैठक गर्ने विचारले यो सम्झौताका लागि किएभले आफ्नो भू–भाग छोड्नुपर्ने चिन्ता बढाएको छ, जसलाई इयूले अस्वीकार गरेको छ ।

युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिगाको उपस्थितिमा सोमबार स्थानीय समयअनुसार दिउसो २ बजे भिडियो लिङ्कमार्फत हुने बैठकमा इयूका विदेशमन्त्रीहरूले आगामी कदमबारे छलफल गर्नेछन् ।

युरोपेली नेताहरूले युक्रेनलाई वार्तामा भाग लिनका लागि सप्ताहन्तमा कडा दबाब दिएका थिए ।

फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, बेलायत र फिनल्यान्डका नेताहरू तथा इयू कमिसनका प्रमुख उर्सुला भोन डेर लेयेनले एक संयुक्त वक्तव्य जारी गर्दै ट्रम्पलाई रुसमाथि थप दबाब दिन आग्रह गरेका छन् ।

जर्मन चान्सलर फ्रेडरिक मर्जले आइतबार शिखर सम्मेलनमा जेलेन्स्की सहभागी हुने आशा व्यक्त गरेका छन् । डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, आइसल्यान्ड, लाटभिया, लिथुआनिया, नर्वे र स्वीडेनका नेताहरूले पनि किएभको संलग्नताबिना कुनै पनि निर्णय लिन नहुने बताएका छन् ।

युद्ध अन्त्यका लागि वार्ता युद्धविरामको समयमा मात्र हुन सक्ने उनीहरूले संयुक्त वक्तव्यमा उल्लेख गरेका छन् ।

उपराष्ट्रपति जेडी भान्सले आइतबार अमेरिकाले ट्रम्प र उनका रुसी समकक्षीबीच हुने बैठकमा किएभको प्रतिनिधित्व गरी तालिका तयार गर्ने पहल अमेरिकाले गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु