Monday, April 20, 2026
Zenith Migration Education
Monday, April 20, 2026

गाजामा रहेका बन्दीहरूलाई खाद्यान्न र औषधि पुर्‍याउने तयारीमा हमास

Zenith Migration Education

गाजा । हमासले एक विज्ञप्तिमार्फत गाजा क्षेत्रमा रहेका इजरायली बन्दीहरूलाई आवश्यक खाद्यान्न तथा औषधि सहायता उपलब्ध गराउने विषयमा अन्तर्राष्ट्रिय रेडक्रस समितिको अनुरोध पालना गर्न आफूहरू सकारात्मक रहेको जानकारी गराएको छ ।

हमासको सशस्त्र शाखा अल–कस्साम दलका प्रवक्ता अबु ओबैदाले उक्त विषयमा वक्तव्य दिँदै भने, “यस प्रकारको मानवीय सहयोग सम्भव हुनका लागि गाजाको सबै क्षेत्रमा खाद्यान्न र औषधिको सहज र नियमित आपूर्ति सुनिश्चित हुनुपर्छ । साथै, बन्दीहरूका लागि सामग्री पुर्‍याउने क्रममा हवाई आक्रमण लगायतका सबै प्रकारका सैन्य गतिविधिहरू पूर्ण रूपमा स्थगित गरिनुपर्छ ।”

प्रवक्ता ओबैदाले थप स्पष्ट पार्दै भने, “हामी बन्दीहरूलाई जानाजानी भोकभोकै नराख्ने नीति अवलम्बन गरेका छौँ । उनीहरूले हाम्रो लडाकुहरू तथा आम नागरिकहरूले जस्तै भोजन प्राप्त गरिरहेका छन् । वर्तमान अवस्थामा, जब गाजाका बासिन्दा स्वयं भोकमरी र नाकाबन्दीको मारमा छन्, बन्दीहरूलाई कुनै विशेष सुविधा दिन सक्ने अवस्था छैन ।”

यस घोषणाको केही घण्टाअघि मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले रेडक्रसको क्षेत्रीय प्रमुख जुलियन लेरिसनलाई टेलिफोनमार्फत आग्रह गर्दै गाजास्थित बन्दीहरूको शीघ्र सहायता सुनिश्चित गर्न अनुरोध गरेका थिए ।

बिहीवारदेखि शनिबारसम्म हमास र फिलिस्तीनी इस्लामिक जिहाद समूहद्वारा सार्वजनिक गरिएका भिडियामा तीनजना इजरायली बन्दीहरू निकै कमजोर अवस्थामा देखिएका थिए । ती दृश्यहरू सार्वजनिक भएपछि इजरायलमा व्यापक जनआक्रोश देखिएको छ र सर्वसाधारणले सरकारसँग युद्धविराम गरेर बन्दीहरूको सुरक्षित मुक्तिका लागि प्रयास गर्न माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु