Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

सिमरामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने

Zenith Migration Education

सिमरा । सिमरा भेट्रान क्लबले सिमरामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजित क्लबले भदौ २१ देखि २८ गतेसम्म सिमरा रंगशालामा महिला फुटबल प्रतियोगिता हुने जानकारी दिएको हो ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मोरङ जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, धरान सिटी फुटबल क्लब, दार्जिलिङको कुरुसङ गल्स फुटबल एकेडेमी र आयोजक क्लब गरी ८ टिमको सहभागिता रहनेछ । रात्री समयमा हुने प्रतियोगिता सिमरा रंगशालामा सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले पाँच लाख र दोस्रो टोलीले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ तथा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, फरवार्ड र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

चार वर्षदेखि भेट्रान फुटबल आयोजना गर्दै आएको सिमरा भेट्रान क्लबले महिला फुटबलको विकास र प्रवर्धनका लागि यसपटकदेखि महिला फुटबल प्रतियोगिता सुरु गरेको हो । क्लब अध्यक्ष राजकपुर राउतले प्रतियोगितालाई नियमित रुपमा आयोजना गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले महिला फुटबलको विकासमा प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

‘‘पछिल्लो समय महिला फुटबलप्रति बढ्दो आकर्षण देखिएको छ, यसले अझै ऊर्जा दिनेछ’’ उनले भने । लामाले सिमरालाई महिला फुटबल खेलाडी उत्पादनको केन्द्र बनाउन सकिने धारणा राखे ।

जीतपुरसिमरा उपमहानगरपालिका– १४ का अध्यक्ष चयन गुरुङ र वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठले विद्यालयस्तरमै महिला फुटबललाई विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । उनीहरूले प्रतियोगिता सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै नव जनजागृति युवा क्लबका महासचिव शम्भु सिंह ठकुरी र आयोजक क्लबका हरी चौधरीले वर्षौंपछि महिला फुटबलको पुनरागमन सिमराका लागि ऐतिहासिक भएको उल्लेख गरे ।

सिमरामा २०६५ सालमा पहिलो गणतान्त्रिक राष्ट्रिय महिला फुटबल प्रतियोगिता र २०६९ मा एन्फाको आयोजनामा एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । त्यसयता राष्ट्रिय महिला फुटबल सिमरामा आयोजना भएको थिएन ।

राष्ट्रिय प्रतियोगिता नहुँदा विद्यालयस्तरबाट उत्पादन भएका महिला खेलाडीमा अवसरको अभाव थियो । अब भने यो प्रतियोगिताबाट स्थानीय खेलाडीको प्रतिभा उजागर हुने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाह, माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल, क्लबका सल्लाहकार विनोद परियार लगायतले प्रतियोगिताले जीतपुरसिमरा क्षेत्रमै फुटबलको विकासमा गति दिने विश्वास व्यक्त गरे ।

जीतपुर सिमरामा १५औं संस्करणसम्म आयोजना भइसकेको गोल्डकप प्रतियोगिता देशकै प्रतिष्ठित प्रतियोगितामध्ये एक हो । सोही प्रतियोगिता मार्फत निर्माणाधीन सिमरा रंगशाला अब मधेश प्रदेशस्तरीय तथा राष्ट्रिय प्रतियोगिताका लागि उपयुक्त स्थान बन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु