जोहान्सबर्ग । जोर्डन, इजिप्ट, जर्मनी, संयुक्त अरब इमिरेट्स (युएई), फ्रान्स र स्पेनले अगस्ट १ मा गाजा क्षेत्रमा संयुक्त रूपमा मानवीय राहत सामग्री खसालेका छन् । जोर्डनको जराकस्थित सैनिक हवाइ अड्डाबाट सुरु गरिएको अभियानअन्तर्गत गाजामा करिब ५७ टन अत्यावश्यक सामग्री पठाइएको हो ।
जोर्डनको सेनाले जारी गरेको विज्ञप्तिअनुसार, राहत सामग्रीमा खाद्यान्न, शिशुहरूका लागि दूध (फर्मुला) र अन्य अत्यावश्यक सामग्री समावेश छन् । यी सामग्रीहरू जोर्डन, जर्मनी, युएई, फ्रान्स र स्पेनका हवाइ जहाजमार्फत गाजामा खसालिएका हुन् । पछिल्लो साता फेरि सुरु गरिएको राहत कार्यअन्तर्गत हालसम्म जम्मा १४८ टनभन्दा बढी सामग्री गाजामा पुर्याइएको सेनाले जनाएको छ ।
इजरायली सेनाले पनि यस अभियानमा समन्वय गरेको छ। सेनाका अनुसार, यसपटक पहिलोपटक जर्मनी, फ्रान्स र स्पेन सहभागी भएका छन् । यसअघि इजरायल, जोर्डन, इजिप्ट र युएईबीच मात्र सहकार्य हुँदै आएको थियो । इजरायली सेनाले गाजामा भोकमरी जानाजान गराइएको भन्ने आरोप अस्वीकार गर्दै अन्तर्राष्ट्रिय समुदायसँग मिलेर राहत पुर्याउने काम जारी राख्ने बताएको छ ।
तर अर्कोतर्फ, प्यालेस्टिनी सरकारी समाचार संस्था वाफाका अनुसार, सोही दिन इजरायली फौजको आक्रमणमा २४ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ । तीमध्ये ५ जना राहत खोज्न गएका बेला मारिएको बताइएको छ ।
राहत सामग्री खसाल्ने कार्यले गाजावासीलाई केही राहत दिएको भए पनि, लगातार भइरहेको हिंसा र नागरिक हताहतीले सङ्कट अझै गहिरिएको देखिन्छ।



