सिड्नी (अष्ट्रेलिया) । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष उद्धब प्रसाद चिमोरिया अष्ट्रेलिया भ्रमणमा रहेका छन् । अष्ट्रेलियामा बसोबास गरिरहेका नेपाली भाषी इसाई मण्डलीसँग भेटघाट तथा पास्टर/धार्मिक अगुवाहरूसँग संवाद गर्ने उद्देश्यले उनी जुन २३ मा अष्ट्रेलिया आएका हुन् ।
अष्ट्रेलिया भ्रमणमा रहेको अध्यक्ष चिमोरिया एडिलेड, मेलबर्न हुँदै सिड्नीमा आइपुगेका छन् । सिड्नीमा उनीसँग विभिन्न चर्च अगुवा, नेपाली इसाई समुदायका प्रतिनिधि र पत्रकारहरूले भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
उनले भेटका क्रममा नेपाल र प्रवासस्थित मण्डलीहरूबीच समन्वय र सहकार्य विस्तार गर्ने र नेपालका धार्मिक अभ्यास र मण्डलीहरूको अवस्थाबारे जानकारी गराउने छन् ।

उनको भ्रमण सिड्नीस्थित समुदाय अभियन्ता विकास लिम्बुको समन्वयमा सञ्चालन भइरहेको छ । अध्यक्ष चिमोरिया यस पटक पत्नी बिनु कार्कीसँगै अष्ट्रेलिया भ्रमणमा आएका हुन् ।
भेटका क्रममा उनले शनिबार ग्रान्भिलस्थित ‘फ्लेवर अफ नेपाल’ रेष्टुरेन्टमा पत्रकार, इसाई अगुवा र समुदाय प्रतिनिधिहरूसँग छलफल गरेका छन् । यस अवसरमा प्रवासी इसाई मण्डलीहरूको योगदान, चुनौती र भविष्यको सम्भावनाबारे समेत छलफल भएको थियो ।
उनले भेटघाट फलदायी रहनुका साथै यसले थप उत्साहित बनाएको पनि बताए । तीन हप्ताको अष्ट्रेलिया बसाइपछि नेपाल फर्किने योजना रहेको अध्यक्ष चिमोरियाले बताए ।



