Tuesday, June 30, 2026
Zenith Migration Education
Tuesday, June 30, 2026

पाकिस्तानका विपक्षी नेतालाई १० वर्षको जेल सजाय

Zenith Migration Education

इस्लामावाद । सन् २०२३ मा इमरान खानको समर्थनमा देशव्यापी प्रदर्शन गरेको आरोपमा पाकिस्तानको संसदमा विपक्षी दलका नेतासहित १०० जनाभन्दा बढीलाई बिहीबार दोषी ठहर गरिएको पूर्व प्रधानमन्त्री खानको पार्टीले जनाएको छ ।

इमरान खानको रिहाइका लागि दबावमुलक विरोधप्रदर्शनको नेतृत्व गरेका आरोपमा उनीहरूलाई दोषी ठहर गरिएको हो ।
खानको पाकिस्तान तेहरीक–ए–इन्साफ पार्टी (पिटिआई) ले जारी गरेको विज्ञप्तिमा छ जना सांसद, एक सिनेटर र एक प्रान्तीय सांसदलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।

तीमध्ये प्रदर्शनमा सहभागी नै नभएका राष्ट्रिय सभाका विपक्षी नेता ओमार अयुब खान पनि रहेका छन् । उनलाई पूर्वी शहर फैसलाबादको आतङ्कवादविरोधी अदालतले हिंसा भड्काउन उक्साएको र दङ्गा भड्काउने र आगजनी गर्ने षडयन्त्र गरेको अभियोगमा दोषी ठहर गरेको थियो ।

पिटिआईका अध्यक्ष गोहर अली खानले भने, “हामी फैसलालाई चुनौति दिँदै यसलाई माथिल्लो अदालतमा अपिल गर्न गइरहेका छौँ ।”

“यस्ता फैसला लोकतन्त्र र मुलुकका लागि राम्रो होइन,” उनले भने । पार्टी पदाधिकारीहरू मुद्दाको सुनुवाइका क्रममा जमानतमा छन् र उनीहरूलाई अझै जेल लगिएको छैन ।

गत बर्षको मे ९ मा खानलाई राजधानी इस्लामावादबाट गिरफ्तार गरिएपछि संवेदनशील सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरी देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो ।

सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री रहेका खानलाई उहाँकै शब्दमा ‘राजनीतिबाट प्रेरित’ प्रतिशोधका आधारमा करिब दुई वर्षदेखि जेलमा राखिएको छ ।

उनका समर्थक र पार्टीका वरिष्ठ नेताहरूले पनि कडा दमनको सामना गर्नुपरेको छ । हजारौँलाई पक्राउ गरिएको छ र खानको नाम टेलिभिजनबाट ‘सेन्सर’ गरिएको छ।

लण्डनमा रहेका पिटिआईका प्रवक्ता सैयद जुल्फिकार बुखारीले पछिल्लो सजायको फैसला ‘प्रजातन्त्रको लागि लागि कालो दिन’ भएको बताएका छन् ।

उनले भने, “विपक्षी नेताहरूलाई एकपछि अर्को गर्दै दोषी ठहर्‍याउनु कुनै पनि लोकतान्त्रिक प्रणालीका लागि शुभ सङ्केत होइन र यसले हाम्रो पहिलेदेखि नै कमजोर लोकतन्त्रलाई गम्भीर क्षति पुर्‍याउनेछ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु