Wednesday, July 1, 2026
Zenith Migration Education
Wednesday, July 1, 2026

सिड्नीमा ANTA को आयोजनामा पारिवारिक भेटघाट तथा बारबिक्यु कार्यक्रम

Zenith Migration Education

सिड्नी, (अष्ट्रेलिया) । Association of Nepal Terai in Australia (ANTA) संस्थाले पारिवारिक भेटघाट तथा बारबिक्यु कार्यक्रमको आयोजना गर्ने भएको छ ।

ANTA का उपाध्यक्ष परमानन्द शाहले यही अगष्ट १४ तरिक आइतबार सिड्नीको Parramatta Park स्थित Bunmarra Picnic Shelter मा पारिवारिक भेटघाट तथा बारबिक्यु कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।

विदेशी भूमिमा रहेका नेपाली मूलका तराईवासीहरुलाई साङ्गठित गर्दै आएको यो संस्थाले विगत दुई दशकदेखि नेपाली संस्कृतिको जगेर्ना, परम्परागत चाडपर्वहरूको संयुक्त आयोजना साथै मातृभाषा सिकाइदेखि लिएर विपद् पीडितलाई राहत पुर्‍याउने अभियानमा सक्रिय रहँदै आएको छ ।

सन् २००८ मा स्थापित यो संस्थाले प्रत्येक वर्ष भेषभूषा, संस्कार र चाडपर्वलाई एउटै स्थानमा सबै मिलेर मनाउने परम्परा स्थापना गरेको उपाध्यक्ष शाहको भनाइ छ । साथै, समुदायका साना नानीबाबुहरूमा मातृभाषा र संस्कृति प्रतिको नजिकपना बढाउने उद्देश्यले यस्तो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

यस संस्थाका अध्यक्ष रञ्जित शाह हुन्, जो एक सफल व्यवसायी तथा लोकप्रिय समाजसेवी समेत हुन् । शाह समुदायमा नेपालीहरूका हितमा समर्पित व्यक्तिका रूपमा चिनिन्छन् भने उनको नेतृत्वमा संस्था अझ सक्रिय र लोकप्रिय बनेको छ ।

ANTA ले नेपाली समुदायमा भाइचारा र आपसी सद्भाव बढाउनुका साथै सँगै बसेर रमाइलो गर्ने र परिवारबीचको सम्बन्ध प्रगाढ बनाउने हेतुले सामूहिक पिकनिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

उपाध्यक्ष शाहले यही अगष्ट १४ तरिकमा आयोजना हुने कार्यक्रममा प्रवेश शुल्क र खानपानको व्यवस्था निःशुल्क रहेको साथै बालकालिकाका लागि विभिन्न रमाइला कार्यक्रमको आयोजना गरिने जानकारी दिएका छन् ।

यसैगरी, यस कार्यक्रममा समुदायबीच भेटघाट, छलफल र आपसी सम्बन्ध सुदृढ गर्ने अवसर प्राप्त गर्न सकिने छ ।
यसपटकको कार्यक्रमलाई संस्थाको दुई वर्षे कार्यकालको अन्तिमतिर आयोजना गरिएको उत्सवमय कार्यक्रमको रूपमा लिइएको उपाध्यक्ष परमानन्द शाह बताउँछन् ।
उनका अनुसार, सिड्नीका साथै बाहिरी शहरहरूबाट पनि उल्लेखनीय उपस्थिति रहनेछ । नयाँ सदस्यता लिन चाहने, आजिवन सदस्यहरूलाई सम्मान, नवनिर्वाचित एनआरएनए अभियन्ताहरूलाई स्वागत तथा शुभकामना दिने कार्यक्रम पनि सोही दिन गरिनेछ ।

ANTA ले नेपालमा बाढीपहिरो, आगलागी जस्ता प्राकृतिक विपदमा तत्काल सहयोग पुर्‍याउने तथा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै, अष्ट्रेलिया आएका नयाँ विद्यार्थी तथा युवा नेपालीहरूलाई परामर्श, टेम्पोररी आवास, रोजगारी खोजी लगायत सहयोग गर्दै आएको यो संस्था सामाजिक सेवामा समर्पित अग्रणी संस्थाका रूपमा स्थापित भएको छ । यस संस्थामा व्यवसायी, बुद्धिजीवी, समाजसेवीहरूको समेत सशक्त सहभागिता रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु