काठमाडौँ । हिमानी कोषले इन्टरनेशनल क्लबसँगको सहकार्यमा युवाहरूलाई स्वदेशमै उद्यमशीलतामा प्रोत्साहन गर्न ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ नामक कार्यक्रम आयोजना गर्ने भएको छ ।
‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रम आगामी शनिबार (साउन १७ गते) सानेपास्थित इन्टरनेशनल क्लबमा हुनेछ ।
कोषकी सदस्य-सचिव शुभेच्छा शाहद्वारा जारी विज्ञप्तिअनुसार, कार्यक्रमको मुख्य उद्देश्य आफ्नो मातृभूमिप्रति दायित्वबोध गरी नेपालमै केही गर्न चाहने युवाहरूलाई सल्लाह, सुझाव र अवसर प्रदान गर्नु रहेको छ ।
विदेशबाट फर्किएका वा स्वदेशमै रहेर उद्यम, व्यवसाय गर्न चाहने नवउद्यमीहरूलाई लक्षित गरी यो कार्यक्रम आयोजना गर्न लागिएको उनले जनाइन् ।
उनका अनुसार कार्यक्रमको महत्त्वपूर्ण पक्ष नयाँ उद्यमीहरूलाई आर्थिक सहायता प्रदान गर्न ‘माइक्रो-सिडिङ रिभल्भिङ फन्ड’ (लघु-बीज घुम्ती कोष) को स्थापना गर्ने लक्ष्य राखिएको छ । यस कोषमार्फत युवा उद्यमीहरूलाई आफ्नो व्यवसाय सुरु गर्न प्रारम्भिक पुँजी उपलब्ध गराइने कोषले जनाएको छ ।
विज्ञप्तिमा उल्लेख भएअनुसार कार्यक्रममा विभिन्न क्षेत्रका स्थापित उद्योगी(व्यवसायीहरूको सहभागिता रहनेछ । साथै, सहभागीहरूका लागि विभिन्न व्यावसायिक स्टलहरू र मनोरञ्जनात्मक खेलहरूको समेत आयोजना गरिनेछ ।
कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह, कोषकी अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाह लगायत पूर्व राजपरिवारका अन्य सदस्यहरूको पनि सहभागिता रहने बताइएको छ ।



