सिड्नी (अष्ट्रेलिया) । हिन्दु नारीहरुको महान पर्व हरितालिकातीजको अवसमा नारी निकुञ्ज अष्ट्रेलियाले विशेष उत्साहका साथ मनाउने भएको छ ।
आगामी अगष्ट ३ तारिक अर्थात् आइतबार बेलुका ५ बजे एनआरएनए महिला मञ्ज नारी निकुञ्जले (एनएसडब्लु)को आयोजनामा “तीज for Charity” कार्यक्रम Prisha Events and Catering (10 Third Ave, Blacktown, NSW) मा हुँदैछ ।
कार्यक्रममा चर्चित कलाकार सम्झना लामिछाने मगरको विशेष प्रस्तुतिसहित विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य, गीत र नेपाली परिकारको स्वादको पनि मजा लिन सकिनेछ । प्रवेश शुल्क ४५० राखिएको छ, जसमा ३ कोर्सको स्वादिष्ट भोजन पनि समावेश गरिएको छ ।
कार्यक्रमको उद्देश्य केवल मनोरञ्जन मात्र नभई, च्यारिटी मार्फत समुदायमा योगदान दिनु पनि हो । कार्यक्रमबारे जानकारी दिँदै नारी निकुन्ज एनएसडब्लु राज्य संयोजक सबला बस्नेतले भन्छिन्, “नारी निकुञ्जले प्रत्येक वर्ष नेपाली महिलाहरूको आत्मबल, संस्कृति र एकताको प्रतीकका रूपमा तीज पर्व भव्यताका साथ मनाउँदै आएको छ । यसपालिको तीज कार्यक्रम च्यारिटी उद्देश्यका लागि समर्पित छ, जसबाट हामी नेपालका दुर्गम क्षेत्रका शिक्षा र स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेका छौं । सबैलाई यस कार्यक्रममा उपस्थित भई सधैंझैं साथ र सहयोग गर्न हार्दिक अनुरोध छ ।”
आयोजकहरूले नेपाली समुदायका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सजिएर, रमाएर सांस्कृतिक चाडलाई रमाइलोका साथ मनाउँदै सामाजिक सेवामा योगदान गर्न निमन्त्रणा समेत गरेको छ ।



