सिड्नी (अष्ट्रेलिया) । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा अष्ट्रेलियाको सिड्नीस्थित ओबर्नमा तीज विशेष सांगीतिक कार्यक्रम हुने भएको छ ।
यही भदौ ६ गते अर्थात् अगष्ट २२ मा ओबर्नको एनएसडब्लु गान्ड प्यालेसमा सांगीतिक कार्यक्रम हुने भएको हो । सो कार्यक्रममा गायक रामजी खाँड र गायिका शान्तीरानी परियारले प्रस्तुती दिने भएका छन् ।
ओबर्न सोसाइटीका अध्यक्ष अरुण श्रेष्ठले तीजको अवसरमा हुने सांगीतिक कार्यक्रममा प्रवेश शूल्क लाग्ने जानकारी दिए । उनका अनुसार प्रवेश शुल्क ५९ डलर र २५ डलर राखिएको छ । अनलाइनबाट भने ५५ डलरमै खरिद गर्न सकिने उनको भनाइ छ ।
विदेशमा रहेका नेपाली महिलालाई आफ्नो संस्कृति तथा चाडपर्वको महत्त्व बुझाउनका लागि यस्ता सांगीतिक कार्यक्रमको आयोजना गरिएको श्रेष्ठले बताए । विदेशमा बसेर नेपालको चाडपर्व तथा संस्कृतिलाई जोगाइ राख्न समय–समयमा यस्तो कार्यक्रम आयोजना गर्नुपरेको उनले बताए ।
उनले भने, ‘घर र स्वदेशदेखि टाढा हुँदा आफ्नो मौलिक संस्कृति भुल्ने अवस्था आउन सक्ने हुँदा यस्ता कार्यक्रमले नेपालीत्त्वको भावना जगाउँन सक्छ । यहाँ बसेर स्वदेशको संस्कृतिलाई माया गराउन सक्नु पनि हाम्रो दायित्त्व हुन आउँछ ।’



