Thursday, July 16, 2026
Zenith Migration Education
Thursday, July 16, 2026

पल्सर स्पोट्र्स अवार्ड भदौको अन्तिम साता पोखरामा, पल्सरसँग पाँच वर्षको सम्झौता थप

Zenith Migration Education

काठमाडौँ । नेपाली खेलकुदको प्रतिष्ठित खेलाडी सम्मान कार्यक्रम ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१’ यो वर्ष आगामी भदौ २९ गते पोखरामा हुने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हरेक वर्ष हुने अवार्ड कार्यक्रम २२औँ संस्करणमा आएर पहिलोपटक काठमाडौँ बाहिर हुन लागेको हो ।

अवार्डको आयोजनाका लागि आज आयोजक मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबीच प्रायोजकसम्बन्धी सम्झौता भयो । सम्झौतापत्रमा मञ्चका तर्फबाट अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले हस्ताक्षर गरे ।

विगत १७ वर्षदेखि नियमित रूपमा मुख्य प्रायोजन गर्दै आएको गोल्छा ग्रुपले पाँच वर्षको सम्झौता थप गरेको हो । सम्झौताअनुसार गोल्छा ग्रुपले नगद र जिन्सी गरी रु ४० लाख बराबरको प्रायोजन गर्नेछ ।

मञ्चका अध्यक्ष अधिकारीले नेपाली खेलकुदको दायरा फराकिलो भइरहेको अवस्थामा स्पोट्र्स अवार्डलाई देशव्यापी फैलाउने उद्देश्यले पर्यटनको राजधानी पोखरामा अवार्ड आयोजना गर्न लागेको जानकारी दिए ।

“काठमाडौँ बाहिर लैजाने तयारी केही वर्ष अगाडिदेखि नै भइरहेको थियो । सम्भावित केही सहरसँग कुराकानी गर्ने क्रममा पोखराले भ्रमण वर्ष २०२५ मनाइरहेको बेला सबै पक्ष अनुकूल बनेपछि यसपालिको स्पोट्र्स अवार्ड पोखरा लान सफल भयौँ”, अध्यक्ष अधिकारीले भने । एनएसजेएफका महासचिव अन्जन खड्काले यस वर्ष पनि स्पोट्र्स अवार्डमा दश विधा समावेश गरिएको जानकारी दिए ।

स्पोट्र्स अवार्डमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड र टिम अफ दि इयर विधा रहेको छ ।

जसमा उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी पाँच विधाका खेलाडीले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै स्पेशल, लाइफटाइम अचिभमेन्ट, टिम अफ द इयर र पारा एथलेट सम्मानका विजेताले जनही रु एक लाख प्राप्त गर्नेछन् ।

महासचिव खड्काले भोटिङमार्फत हुने भएकाले पिपल्स च्वाइस विधाको मनोनयनका साथै वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने जानकारी दिए ।

स्पोट्र्स अवार्डमा पल्सरको निरन्तरता
गोल्छा समूहका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले १७ वर्षको यो सहकार्य नेपालकै लामो साझेदारीमध्ये एक भएको बताए । उनले भनेयो, “यसले दुई संस्थाबीचको प्रतिबद्धता र विश्वास देखाउँछ, त्यसैले पनि एनएसजेएफसँग आबद्ध हुन पाउँदा गर्व महसुस हुन्छ ।”

सो कार्यक्रममा एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले कुनै पनि संस्थाले २२ वर्षसम्म एउटै कार्यक्रम गर्नु अझ एउटै प्रायोजकसँग १७ वर्षको सहकार्य दुलर्भ रहेको बताए । उनले खेलकुद पत्रकार मञ्चले यो अवार्ड कार्यक्रम गरेर खलाडीलाई सम्मान गरिरहँदा खेल पत्रकारहरू पनि सम्मानित भएको महुसस हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु