Monday, July 13, 2026
Zenith Migration Education
Monday, July 13, 2026

डेंगु र कोरोना देखिन थालेपछि गण्डकीमा सतर्कता

Zenith Migration Education

गण्डकी । डेंगु र कोराना सङ्क्रमणको जोखिम बढेपछि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मङ्गलबार मन्त्रालयमा आकस्मिक बैठक राखी मातहतका निकायलाई रोकथामको तयारीसहित उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

आइतबार पोखराको चरक अस्पतालमा कोरोना सङ्क्रमित ७४ वर्षीया महिलाको उपचारका क्रममा निधन भएपछि स्वास्थ्य मन्त्रालयले यसमा चासो र सतर्कता बढाएको हो ।

स्वास्थ्यमन्त्री पाठकले डेंगु र कोरोना सङ्क्रमणको जोखिम नियन्त्रणका लागि मन्त्रालय मातहतका अस्पताल र जनस्वास्थ्य कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको बताए । उनका अनुसार प्रदेशभित्र हालसम्म ४६० जना डेंगु सङ्क्रमण पुष्टि भएको छ । साउनदेखि कात्तिकसम्म डेंगु सङ्क्रमण बढ्ने जोखिम उच्च रहने भएकाले सङ्क्रमण रोकथाम तथा व्यवस्थापनको तयारी गर्नुपर्ने स्वास्थ्यमन्त्री पाठकले बताए ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले कोरोना सङ्क्रमित महिलाको मृत्युको घटनाबाट सबै सचेत हुनुपर्ने बताए । गत असार २५ गते कोरोना सङ्क्रमण पुष्टि भएका महिलाको आइतबार मृत्यु भएको थियो ।

उहाँमा अन्य स्वास्थ्य समस्यासँगै कोरोना सङ्क्रमण देखिएको थियो, अवस्था जटिल बन्दै गएपछि उपचारकै क्रममा निधन भएको हो”, महानिर्देशक खड्काले भने, “कोरोनाको कुन भेरियन्ट हो भन्ने अझै पत्ता लागिसकेको छैन, कोरोनाका कारणले मात्र नभई अन्य स्वास्थ्य समस्यासमेत रहेकाले बिरामीको मृत्यु भएको हो ।”

सङ्क्रमित महिलामा उच्च रक्तचाप, मधुमेहलगायत समस्या रहेको उनले बताए। स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएकी महिलामा कोरोना सङ्क्रमण देखिएको थियो । महानिर्देशक खड्काका अनुसार गत पुसयता गण्डकी प्रदेशका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गतवर्ष डेंगु सङ्क्रमणको ‘हटस्पट’ बनेको प्रदेशको राजधानी सहर पोखरासहित सबै जिल्लामा सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले महानगरको लेखनाथ क्षेत्रमा फाट्टफुट्ट रूपमा डेङ्गीको सङ्क्रमण देखिन सुरू गरेको बताए । “डेंगु सङ्क्रमणको उच्च जोखिम रहने समय नजिक आइरहेकाले रोकथामका उपायबारे समुदायमा अभिमुखीकरण गर्ने काम गरिएको छ”, उनले भने ।

कक्षा ७ देखि १० कक्षासम्मका विद्यार्थी, महिला स्वास्थ्यस्वयंलगायतलाई पनि डेङ्गी सङ्क्रमण रोकथामका विषयमा सचेतना प्रदान गरिएको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । डेंगु परीक्षणका लागि ‘कीट’ व्यवस्थापन र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका काममा पनि महानगरको स्वास्थ्य महाशाखा लागिपरेको उनको भनाइ छ । गत वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार ६०० जनाभन्दा बढीमा डेङ्गी सङ्क्रमण भएको थियो । डेंगु सङ्क्रमणबाट पोखराका तीन जनाको मृत्यु भएको थियो ।

त्योबेला प्रदेशको स्वास्थ्य मन्त्रालयले पोखरा डेंगु सङ्क्रमणको ‘हटस्पट’ बनेको उल्लेख गरेको थियो । गतवर्ष भदौ पहिलो हप्तादेखि असोज पहिलो हप्तासम्ममा पोखरामा छ गुणाले

डेंगु सङ्क्रण बढेको थियो । महानगरपालिकाले लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरू गर्दै आए पनि डेङ्गी रोकथाम चुनौतीपूर्ण बन्दै गएको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । “हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेंगु रोकथाम र नियन्त्रण गर्न कठिन छ”, उनले भने ।

डेंगु फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने उनले बताए । डेंगु रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको छ । सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु