काठमाडौँ । नेकपा (एमाले)ले पार्टीबाट राष्ट्रपति र उपराष्ट्रपति भइसकेकालाई पार्टी सदस्यता र जिम्मेवारीबाट सधैँका लागि निवृत्त हुने वैधानिक प्रबन्ध गर्नुपर्ने प्रस्ताव गरेको छ ।
मङ्गलबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको नौँ बैठकमा केन्द्रीय सदस्य निर्मलकुमार भट्टराईले यस्तो प्रस्ताव गरेका हुन् ।
राज्य सञ्चालनका लागि नभई नहुने केही शीर्ष नेतृत्व बाहेक पार्टीको टिकटमा निर्वाचित हुने जनप्रतिनिधिलाई निश्चित समयपछि ‘कुलिङ पिरियड’ को व्यवस्था गर्नुपर्ने केन्द्रीय सदस्य भट्टराईले गरेको प्रस्तावमा उल्लेख छ ।
त्यस्तै, उमेर हद, कार्यकाल र अन्य विषयमा पार्टी सचिवालय र पोलिटब्यूरोको प्रस्तावलाई नै समर्थन गरिने प्रस्ताव छ ।
जबजको वैचारिक, दार्शनिक र प्राज्ञिक उन्नयनका लागि मौजुदा मदन भण्डारी फाउन्डेसनको विज्ञ र बुद्धिजीवी सम्मिलित केन्द्रीय संरचना व्यवस्थित गर्ने र पार्टीका नीति, निर्णयलाई आधारभूत तहमा प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न मौजुदा जिल्ला कमिटीलाई समन्वय कमिटीमा रूपान्तरण गर्ने प्रस्ताव भट्टराईको छ ।



