सिड्नी (अष्ट्रेलिया) । नेपाली भलिबल संघ अष्ट्रेलियाले दुई जना राष्ट्रिय भलिबल खेलाडीलाई वर्षको सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको छ । संघले शनिबार सिड्नीको ईन्द्रेनी फंगसन सेन्टर रक्डेलमा आयोजना गरिएको विशेष कार्यक्रममार्फत भलिबल खेलाडी प्रतिभा माली र राजेन्द्र विष्टलाई एनभिएए अवार्डबाट वर्षका सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको हो ।
यसैगरी, महिलातर्फ म्याग्दीकै सरस्वती उत्कृष्ट स्पाइकर, म्याग्दीकै मिया पुन उत्कृष्ट सेटर, पोखरा भलिबल क्लब तथा छन्त्याल परिवार अष्ट्रेलियाकी सन्जु पुर्जा उत्कृष्ट सर्भर घोषित भइन् ।
त्यस्तै, पुरुषतर्फ गल्कोटका दिलबहादुर सुनार उत्कृष्ट स्पाइकर, ढोरपाटनका खेम पुर्जा उत्कृष्ट सेटर, गल्कोटका अर्जुन अधिकारी उत्कृष्ट मिडल ब्लकर, ढोरपाटनका विजय आचार्य उत्कृष्ट सर्भर र सोही क्लबका सरोज घर्तीमगर उत्कृष्ट लिबेरो घोषित भए ।

त्यस्तै ढोरपाटनका डोर बहादुर राना वर्ष उत्कृष्ट प्रशिक्षक, मोना अस्ट्रेलियालाई वर्ष उत्कृष्ट व्यवस्थापन र थकाली सेवा समितिलाई फेयर प्ले टिम अवार्ड प्रदान गरिएको थियो ।
विजयी सबैलाई अवार्ड प्रदान गरिएको छ । व्यक्तिगत विधाका सबै अवार्डमा मनोनयन राखिएको थियो ।
वर्ष सर्वोत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा राजेन्द्रसँगै ढोरपाटनका विजय आचार्य, मोनाका रविन चन्द र पारस भण्डारी तथा गल्कोटका दिल सुनार रहेका थिए ।
महिलामा प्रतिभासँगै म्याग्दी कालीकी सरस्वती चौधरी, जलजलाकी अरुणा शाही र ढोरपाटनकी याम कुमारी शेरचन मनोनयनमा थिए ।

पुरुषको स्पाइकरतर्फ दिलसँगै, मोनाका पारस भण्डारी, जलजलाका हेमन्त बहादुर मल्ल, गोर्खाका बिशाल बहादुर विक र पोखराका मानबहादुर श्रेष्ठ मनोनयनमा थिए । यस्तै सर्भरमा विजयसँगै राजेन्द्र विष्ट, छन्त्यालका तिलक छन्त्याल, गोर्खाका प्रकाश फाल मगर र मोनाका माधव पुन मनोनयनमा थिए ।
सेटरमा खेमसँगै दीपक अधिकारी, बिशाल कार्की, विश्व घर्तीमगर दिपक थापा मगर मनोनयनमा पर्न सफल भएका थिए । मिडल ब्लकरमा अर्जुनसँगै मोनाका शेरु रोका, जलजलाकम ज्ञानेन्द्र पटेल, गल्कोटका विनोद खत्री र मोनाका पारस भण्डारी मनोनयनमा थिए ।
लिवेरोको मनोनयनमा सरोजसँगै गल्कोटका बिशाल कार्की, छन्त्यालका गणेश छन्त्याल, मोनाका तुल बहादुर थापा र राजेश हमाल थिए ।
महिलाको स्पाइकरमा सरस्वतीसँगै ढोरपाटनकी निरुता ठगुन्ना, छन्त्यालकी कामना विष्ट र पोखराकी इन्दिरा पुन मनोनयनमा पर्न सफल भएकी थिइन् ।
सेटरमा मियासँगै प्रतिक्षा गुरुङ, सविना बुढामगर र पुनम पुन मनोनयनमा थिइन् । सर्भरमा सन्जुसँगै आशा क्षेत्री, दिल्स घर्तीमगर र गीता मगर मनोनयनमा थिइन् ।
सोही अवसरमा सन् २००४ मा सिड्नीमा नेपाली समुदायको भलिबल सुरु गर्ने दीपक शेरचन तथा पत्रकार सोमन छन्त्याल र दिल तामाङलाई मायाको चिनो प्रदान गरिएको थियो ।
विजयी खेलाडीलाई एनभिएएका अध्यक्ष दीपक क्षेत्री, पूर्व महावाणिज्यदूत दीपक केसी र अजी होम लोनका विष्णु हमाल र सुमन बाँनिया लगायतले अवार्ड प्रदान गरेका थिए ।

नेपाल भलिबल संघ अष्ट्रेलिया (एनभिएए) ले वर्षभरि उत्कृष्ट प्रदर्शन गर्ने पुरुष र महिला खेलाडीलाई अवार्ड प्रदान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि अष्ट्रेलियास्थित नेपालका पूर्व वाणिज्यदूत दीपक खड्काले भलिबल खेललाई अष्ट्रेलियामा नेपाली समुदायले ऊर्जा र योजनाबद्ध रूपमा अगाडि बढाउनु अत्यन्त प्रेरणादायक रहेको बताएका छन् । साथै उनले अष्ट्रेलियामा भलिबलको विकास गर्न योगदान पुर्याउने स्वः पत्रकार टिका कार्कीलाई सम्झिएका थिए ।
यस्तै, विशेष अतिथि गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले खेलकुदले समुदायलाई सकारात्मक मार्गमा डोर्याउँने बताएका छन् । एनआरएनए अष्ट्रेलिया यस्ता गतिविधिहरूमा सधैँ साथ रहने प्रतिबद्धता उनले जनाए छन् ।
कार्यक्रमको अध्यक्षता गरेका एनभिएएका अध्यक्ष दीपक क्षेत्रीले संस्थाको स्थापना कालदेखि वर्तमानसम्मको यात्रा र संस्थाको लक्ष्यहरूबारे प्रकाश पारेका थिए । ‘‘यो पुरस्कार केही होइन, हामी सबै विजेता हौँ । नेपाली खेलकुद र समुदायप्रतिको हाम्रो सामूहिक समर्पण हो । सन् २०१८ स्थापना भएको एनभिएएले आज संस्था र समुदायको साझा गर्व गर्न लायक बन्न पुगेकोमा सबैलाई धन्यवाद ।’’











