Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

रमेश सिंह ठकुरी युवा संयोजकको दौडमा अगाडि

Zenith Migration Education

सिड्नी —अष्ट्रेलिया गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि रमेश सिंह ठकुरीले न्यू साउथ वेल्स राज्य युवा संयोजक पदमा उम्मेदवारी दिएका छन्। कर्णालीको विकट गाउँ जाजरकोटबाट उठेका ठकुरीले संघर्ष, सेवाभाव र दूरदर्शी कार्ययोजनामार्फत अष्ट्रेलियामा युवालाई संगठित गर्ने दृढता व्यक्त गरेका छन्।

बारेकोट गाउँमा हुर्केका ठकुरीको बाल्यकाल आर्थिक अभाव, शैक्षिक असहजता र आधारभूत स्वास्थ्य सेवाको अभावसँगै बित्यो। “साधारण ज्वरो पनि ज्यान जान सक्ने अवस्था थियो,” उनी भन्छन्। त्यही जीवन अनुभवले उनलाई समाज र राष्ट्रप्रति जिम्मेवार बनायो।

सीमित स्रोत र कुनै चिनजानविना अष्ट्रेलिया आएका ठकुरी आज सफल व्यवसायीका रूपमा चिनिन्छन्। Lola Cocina Spanish Restaurant, Annapurna Function Centre, Janaki Tours & Travels, Janaki Rentals लगायतका व्यवसाय स्थापना गरेका उनले सामाजिक उत्तरदायित्वलाई पनि बराबरीको प्राथमिकतामा राखेका छन्।

उनले स्थापना गरेको Janaki Foundation मार्फत जाजरकोट लगायतका ग्रामीण क्षेत्रहरूमा विभिन्न मानवीय कार्य सञ्चालन हुँदै आएका छन्। कोभिड महामारीमा खाद्यान्न र औषधि सहयोगदेखि लिएर विपन्न बालबालिकाका लागि छात्रवृत्तिसम्मका कार्यक्रम फाउन्डेसनले सञ्चालन गर्दै आएको छ।

भूकम्प, पहिरो र अन्य विपद् पीडितलाई तत्काल राहत वितरण र दीर्घकालीन पुनर्निर्माणमा समेत सक्रिय रहँदै आएको यो संस्थाले शिक्षा, स्वास्थ्य र बालसुरक्षामा विशेष योगदान पुर्‍याउँदै आएको छ।

एनएसडब्ल्यू राज्यको युवा संयोजक पदमा उम्मेदवारी दिनु पछाडि ठकुरीको मुख्य उद्देश्य भनेको अष्ट्रेलियामा रहेका नेपाली युवाहरूलाई समृद्ध र सचेत बनाउनु हो।

उनको मुख्य कार्ययोजना यस्ता छन्:

•रोजगार तालिम, सीभी लेखन, भाषा र सीप विकास

•पोकीज, जुवाको लत र मानसिक स्वास्थ्य चुनौतीमा सहायता

•नयाँ विद्यार्थी तथा आप्रवासीका लागि सामाजिक तथा व्यावसायिक सञ्जाल विकास

•अनुभवी पुस्ता र युवाबीच ज्ञान–अनुभव सेतु निर्माण

“मैले संघर्ष गर्दा कसैले सुनेन। आज म ती मौन आवाजहरूको प्रतिनिधि बन्न चाहन्छु,” ठकुरी भन्छन्। “मेरो नेतृत्व केवल भाषण होइन—कार्यान्वयनमा विश्वास गर्छ।”

उनले रोजेको Team Ekata विभिन्न पृष्ठभूमिका सदस्यहरूको साझा मञ्च हो। यो टिमले समावेशी दृष्टिकोण, पारदर्शिता र युवालाई अग्रसर गराउने नीति अवलम्बन गर्ने जनाएको छ।

“अब समय हेरिरहने होइन, अघि बढ्ने हो। युवा नेतृत्वलाई साथ दिऔँ, किनभने परिवर्तन भाषणबाट होइन, कामबाट आउँछ,” ठकुरीको सन्देश छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु