काठमाडौँ । नेपाल मतदाता अधिकार मञ्चले शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझाएको छ।प्रतिनिधिमण्डलले पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा पुगेर अध्यक्ष प्रचण्डलाई भेट गरी उक्त सुझावपत्र हस्तान्तरण गरेको हो ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणाली र संविधान संशोधनबारे माओवादी केन्द्रको स्पष्ट धारणा रहेको उल्लेख गरे । उनले निर्वाचन प्रणालीमा आवश्यक परिवर्तनका लागि माओवादी केन्द्रले निरन्तर आवाज उठाउँदै आएको जानकारी दिए ।
उनले खर्चिलो निर्वाचन प्रणाली र सांसद भएपछि मात्रै मन्त्री वा प्रधानमन्त्री बन्नुपर्ने व्यवस्थाका कारण भ्रष्टाचार बढेको उल्लेख गरे ।
‘‘मुहानबाट धमिलो पानी आइराखेको छ, तर हामीले धाराबाट सफा पानी खोज्न मिल्दैन,’’ उनले भने, ‘‘प्रत्यक्ष कार्यकारी रहने गरी निर्वाचन प्रणाली आवश्यक छ ।’’ जनसङ्ख्याका आधारमा पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिए ।
अध्यक्ष प्रचण्डले मतदाता अधिकार मञ्चले उठाएका मुद्दाहरू सकारात्मक रहेको उल्लेख गर्दै, यस्ता मागहरू केवल सुझावपत्रमार्फत नेताहरुलाई बुझाएर मात्र पूरा नहुने बताए । परिवर्तनका लागि आन्दोलन आवश्यक पर्न सक्ने भन्दै उनले भने , “परिवर्तनको पक्षमा निरन्तर संघर्ष गर्दै आएको माओवादी केन्द्रलाई यस्ता अभियानमा साथ दिँदा मात्रै परिवर्तनका एजेण्डा सफल हुनेछन् ।”
उनले थप भने, “मतदाता अधिकार मञ्चको यो पहल सकारात्मक छ। यस्ता माग र सुझावहरू नेताहरुलाई बुझाएर मात्र परिवर्तन सम्भव हुँदैन। जनताका माग र मुद्धा स्थापित गर्न आवश्यक परे हामी सडक संघर्षमा जान पनि तयार छौं। तपाईंहरू पनि त्यसको लागि तयारी अवस्थामा रहनुहोला । त्यसको तयारी गर्नुहोला ।”
मतदाता अधिकार मञ्चले निर्वाचन प्रणालीमा सुधार, प्रतिनिधित्वको समावेशीकरण र मतदाताको अधिकार सुनिश्चित गर्ने सम्बन्धमा विभिन्न मागहरू अध्यक्ष प्रचण्डसमक्ष पेश गरेको छ ।



