काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले जारी एन्फा यु–१६ युथ लिगमा आफ्नो विजयीयात्रा चौथो खेलसम्म जारी राखेको छ । सातबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको तेस्रो खेलमा पुलिसले प्लानिङ ब्वाइज युनाइटेडमाथि ६–० को फरालिको जित निकाल्यो ।
यससँगै पुलिसले चौथो जित निकाल्दै १२ अङ्कका साथ जारी लिगको शीर्ष स्थानमा यथावत् छ । पुलिसको जितमा समीर कुमारले ह्याट्रिकसहित चार गोल गरे । प्रसन राईले दुई गोल थपे । पुलिसले पहिलो हाफमा चार र दोस्रो हाफमा दुई गोल गरेको हो । खेलको पहिलो मिनेटमा नै प्रसनको गोलबाट पुलिसले अग्रता लियो । समीरले २८औं र २९औं मिनेटमा लगातार दुई गोल गरे । यससँगै पहिलो ३–० ले अगाडि रह्यो । तीन मिनेटपछि नै प्रसनले पुलिसको चौथो गोल गरे । यससँगै पहिलो हाफमा पुलिसले सहज अग्रता बनायो ।
दोस्रो हाफमा पनि पुलिसले छोटो समयको अन्तरमा लगातार दुई गोल ग¥यो । ६२औं मिनेटमा समीरले गोल गर्दै ह्याट्रिक पूरा गरे । पाँच मिनेटपछि नै उनले व्यक्तिगत चोथो गोल गरेपछि पुलिस ६–० ले अगाडि बढ्यो । तर त्यसपछि भने चर्च ब्वाइजले केही रक्षात्मक बन्यो र थप गोल बेहोरेन । तर पनि चर्च ब्वाइज जारी लिगमा अर्को फराकिलो हार सामना गर्न बाध्य भयो । चौथो खेलमा चर्च ब्वाइजको यो तेस्रो हार हो । चर्च ब्वाइज तीन अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ । जारी लिगमा चर्च ब्वाइजले २२ गोल बेहोरिसकेको छ ।
मनाङ र फ्रेन्ड्सको तेस्रो जित
मनाङ मर्स्याङ्दी फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा सोमबार सफलता प्राप्त गर्दै तेस्रो जित निकालेका छन् । सातबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा फ्रेन्ड्सले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराएको हो । फ्रेन्ड्सको जितमा पूरण श्रेष्ठ र मन्दीप ढुंगेलले समान एक गोल गरे । अर्को गोल फ्रेन्ड्सले आत्मघाती रूपमा उपहार पायो । आर्मीको यो लगातार तेस्रो खेलमा हार हो । समान खेलमा फ्रेन्ड्सको तेस्रो जित हो । यो जितसँगै ९ अङ्क जोड्दै फ्रेन्ड्स चौथो स्थानमा छ । हारसँगै चार खेलमा तीन अङ्क जोडेको आर्मी ११औं स्थानमा झरेको छ । फ्रेन्ड्सले पहिलो हाफमा नै दुई गोल गर्यो । खेलको २०औं मिनेटमा पूरण श्रेष्ठले गोल गर्दै अग्रता दिलाए । त्यसको आठ मिनेटमा मन्दीपले दोस्रो गोल गर्दै अग्रता दोब्ब बनाए ।
यससँगै पहिलो हाफमा फ्रेन्ड्स २–० ले अगाडि रह्यो । दोस्रो हाफमा पनि आर्मीले गोल फर्काउन सकेन । ८९औं मिनेटमा बादल पोख्रेलले आत्मघाती गोल गरे । यससँगै फ्रेन्ड्सले आर्मीमाथि सहजै जित निकाल्यो । दिनको पहिलो खेलमा मनाङले साविक विजेता चर्च ब्वाइजमाथि ४–३ को रोमाञ्चक जित निकाल्यो । मनाङको जितमा राम आर्जेलले दुई तथा रोहन थापामगर र धर्विन्द्र बोहराले समान एक गोल गरे । चर्च ब्वाइजका सुशान थापामगरले दुई गोल गरे । सुजीत लामाको नाममा एक गोल रह्यो । जितसँगै मनाङले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । मनाङले चार खेलबाट तीन जित र एक बराबरी गरेको छ ।
मनाङ १० अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । गोल अन्तरका आधारमा मच्छिन्द्र मनाङभन्दा अगाडि छ । लिगमा चर्च ब्वाइजको यो तेस्रो हार हो । चर्च ब्वाइज तीन अंक जोड्दै दशौं स्थानमा झर्यो । चर्च ब्वाइज र मनाङबीचको खेलको पहिलो निकै रोमाञ्चक रह्यो । पहिलो हाफमा नै कुल ६ गोल भए । तर, खेलको छैटौं मिनेटमा नै मनाङले रामको गोलबाट अग्रता लियो । १७औं मिनेटमा रोहनले गोल गर्दै मनाङलाई २–० ले अगाडि बढाए । तर, तीन मिनेटपछि नै चर्च ब्वाइजले गोल फर्काउँदै खेलमा फर्कने सङ्केत गर्यो । चर्च ब्वाइजका लागि सुशानले गोल गरेका हुन् ।
यद्यपि, २४औं रामले व्यक्तिगत दोस्रो गोल गर्दै फेरि मनाङको अग्रता बढाए । ३१औं मिनेटमा सुशानले गोल गर्दै मनाङको अग्रता ३–२ मा छोट्याए । पहिलो हाफको थप समयमा सुजित लामाले गोल गर्दै चर्च ब्वाइजलाई ३–३ को बराबरी गरे । तर, दोस्रो हाफमा मनाङले गोल थप्यो । त्यो नै निर्णायक बन्यो । ८४औं मिनेटमा धर्विन्द्रले गोल गरेका हुन् ।



