काठमाडौँ । गण्डकी प्रदेशअन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (आठौं तह)विरुद्ध ६ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ । भौतिक मन्त्रालय गण्डकीका अधिकृत झलक शर्माविरुद्ध ६ करोड २६ लाख ९३ हजार १२९ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार अधिकृत शर्मा सो पदमा नियुक्त भएको मिति २०५४ माघ ८ गतेदेखि २०८० मङ्सिर १० गतेसम्मको जाँच अवधिमा निजले प्राप्त गरेको पारिश्रमिक/
लब बचत बापतको रकम, दैनिक भ्रमण भत्ता बचत बापतको रकम, प्रोत्साहन भत्ता, बैठक भत्ता, कर्मचारी सञ्चय कोष, कृषि आय, जग्गा बिक्री लगायतको कुल आय तीन करोड ३९ लाख ८७ हजार ४९० रुपियाँ देखिएको छ ।
यसैगरी, सोही अवधिमा निज तथा निजको परिवारको नाममा रहेको विभिन्न बैङ्क तथा वित्तीय संस्था एवम् सहकारीमा रहेको बैङ्क खाताबाट विभिन्न व्यक्तिलाई दिएको ऋण सापटी, कर्मचारी सञ्चय कोषबाट लिएको विशेष सापटी, विभिन्न कम्पनीको शेयर दरिखमा भएको लगानी रकम, शैक्षिक खर्च, सवारी साधन खरिद तथा नवीकरण खर्च रकम, सुन लगायतका बहुमूल्य धातुका गरगहना खरिद गरी सो अवधिमा कुल खर्च नौ करोड ६६ लाख ८० हजार ६२० रुपियाँ भएको देखिएको छ ।
आयोगका अनुसार जाँच अवधिमा खर्च भएको ६ करोड २६ लाख ९३ लाख १२९ रुपियाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि भएको देखिँदैन ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा २ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख समेतको प्रचलित कानुन बमोजिम जफत गर्ने प्रयोजनार्थ गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी हुमा कुमारी उपााध्यायको नाममा रहेको देखिएको हुँदा सोही बमोजिम कैद जरिवाना हुन मागदाबी लिइ बुधबार आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।



