सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकालका लागि न्यू साउथ वेल्स राज्य समन्वय परिषद् (NSW SCC)को युवा संयोजक पदमा सुदीप सिंह विष्ट ‘काजी’ ले उम्मेदवारी घोषणा गरेका छन् । विष्टले एनआरएनए अष्ट्रेलियाको आगामी कार्यकाल २०२५–२०२७ का लागि सो पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
‘एकजुट, सशक्त र आत्मनिर्भर नेपाली युवा समुदायको निर्माण’ भन्ने दृष्टिकोणसहित अघि बढेका विष्टको उम्मेदवारी केवल एक पदका लागि मात्र नभई नेपाली युवाको आवाज, सम्भावना र भविष्यको प्रतिनिधित्व गर्ने उद्देश्यले आएको बताइएको छ ।
“हामी युवाहरू भविष्य मात्र होइनौं—हामी परिवर्तनको आधार हौं,” विष्टले बताए । उनी नेतृत्व, शिक्षा, रोजगारी, मानसिक स्वास्थ्य र सांस्कृतिक पहिचानका क्षेत्रमा युवालाई सशक्त बनाउन कटिबद्ध रहेको बताउँछन् ।
किन सुदीप ?
सुदीप लामो समयदेखि अष्ट्रेलियाली नेपाली समुदायमा क्रियाशील सामाजिक अभियन्ताका रूपमा परिचित छन् । Rockdale Boys नामक युवाहरूको सक्रिय समूहमार्फत उनले दर्जनौं सामाजिक र सांस्कृतिक कार्यक्रमहरू आयोजना तथा व्यवस्थापन गर्दै आएका छन् ।
कोभिड महामारी, बाढी तथा पहिरो पीडितहरूको सहयोगदेखि लिएर Rockdale Nepali Community को स्थापनासम्मका कार्यहरूमा उनको अग्रणी भूमिका रहँदै आएको छ । युवाको प्रतिनिधित्वमा उनी आफूलाई ‘साथी, प्रतिनिधि र सेवक’ मान्छन् ।
विष्टले युवा नेतृत्व विकास, करियर र शिक्षा कार्यक्रम, उद्यमशीलता र स्टार्टअप सहयोग, मानसिक स्वास्थ्य र सशक्तिकरण, सांस्कृतिक पहिचान र एकता, खेलकुद र प्रतिभा प्रवर्धन र युवा आवाजको सशक्त प्रतिनिधित्व गर्ने प्रमुख सात एजेण्डा प्रस्तुत गरेका छन् ।
“मैले युवावस्थामै रहँदै धेरै युवाहरूका भावना, संघर्ष र सम्भावनालाई देखिरहेको छु,” उनले भने, “त्यसैले म यो जिम्मेवारी जोस, अनुभव र जिम्मेवारीको भावना साथ लिन तयार छु ।” विष्टले एनआरएनए अष्ट्रेलियाको युवा संयोजक पदमा उम्मेदवारी दिएसँगै नेपाली युवा नेतृत्वमा नयाँ उत्साह र आशाको सन्देश पुगेको देखिन्छ ।



