नेपाल आयल निगमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपोको निर्माण गरेको छ । निगमले ५५ वर्षपछि स्वदेशी सीप र पुँजी प्रयोग गरेर ७५ करोडको लागतमा डिपो सञ्चालनमा ल्याएको हो ।
हवाई इन्धन डिपो निर्माण परियोजना पोखराका प्रमुख प्रदीपकुमार यादवले स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट आधुनिक सुविधासम्पन्न हवाई इन्धन डिपो निर्माण गरिएको जानकारी दिए ।
डिपोमा १२ सय किलोलिटर क्षमताको तीन वटा ठूला भण्डारण गृह निर्माण गरिएको छ । यसले कुल तीन हजार ६ सय किलोलिटर हवाई इन्धन भण्डारण गर्न सक्ने क्षमता राख्छ । प्रत्येक भर्टिकल स्टोरेज ट्यांकको उचाइ १२ मिटर र व्यास पनि १२ मिटर छ । निगमले नौ हजार दुई सय १५ वर्गमिटर क्षेत्रफलको जग्गा नागरिक उड्डयन प्राधिकरणसँग लिज सम्झौता गरी यो परियोजना सञ्चालन गरेको छ । यहाँ जडान गरिएको स्टोरेज ट्याङ्क तथा फलामको पाइप अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (एपीआई) मापदण्डमा आधारित छन्, जसले अन्तर्राष्ट्रिय गुणस्तर सुनिश्चित गर्दछ ।
उहाले हवाई इन्धन जस्तो प्रज्वलनशील पदार्थको सुरक्षाका लागि डिपोमा विशेष व्यवस्था मिलाइएको बताए । सुरक्षा व्यवस्थाका लागि १२ सय किलोलिटर क्षमताको अलग्गै पानी ट्याङ्की निर्माण गरिएको छ, जसलाई डिपोको वरिपरि जडान गरिएको फायर फाइटिङ संरचनासँग आबद्ध गरिएको छ ।
यसैगरी, आगलागीजन्य घटनालाई तत्कालै निस्तेज पार्न चार हजार लिटर क्षमताको ‘फोम स्टोरेज’ ट्याङ्क निर्माण गरिएको छ । यसलाई फायर फाइटिङको संरचनासँग आबद्ध गरिएकाले पानीको फोहोरासँगै फोम पनि मिसिएर प्रवाह हुने र तत्कालै आगलागी निस्तेज पार्न सहयोग मिल्ने गरी बनाइएको छ । फायर फाइटिङ प्रयोजनका लागि २३० हर्सपावर क्षमताको दुईवटा फायर फाइटिङ डिजल पम्प, १५ हर्स पावर क्षमताको एउटा जक्की पम्प र ८ इन्चको पाइप जडित गरिएको छ ।
भण्डारण गृहमा रहेको हवाई इन्धन पाइपका सहायताले रिफ्युलमा भर्न तथा ट्यांकरबाट ल्याइएको हवाई इन्धन भण्डारण गृहमा राख्न आवश्यक मात्रामा प्रोडक्ट पम्प जडान गरिएको छ । लोडिङ र अनलोडिङमा क्रमशः १ माइक्रोन र ५ माइक्रोनका फिल्टर जडान गरिएको छ । यसले इन्धनको गुणस्तर कायम राख्न मद्दत गर्छ । डिपो निर्माणका लागि २०७७ चैत २ गत सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र आह्वान गरिएको थियो । तर विविध कारणले गर्दा डेढ वर्षपछि २०७९ कात्तिक २९ मा मात्र बोलपत्र पेस गर्नेमध्ये सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार तोकिएको योग्यता र न्यूनतम रकम कबोल गर्ने निर्माण व्यवसायीसँग निर्माण कार्यको सम्झौता भएको थियो ।
२०७९ पुस १५ मा नागरिक उड्डयन प्राधिकरणसँग जग्गा भाडामा लिने विषयमा सम्झौता भयो । त्यसपछि तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा २०८० साउन १ मा निर्माण कार्यको शिलान्यास भएको थियो । परियोजनाको लागत आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको निगमले जनाएको छ । पोखराबाट उडान र अवतरण गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानलाई आवश्यक पर्ने हवाई इन्धन उपलब्ध गराउनका लागि यो डिपो निर्माण गरिएको हो ।



