ब्रिस्बेन,अष्ट्रेलिया—गैरआवासीय नेपाली संघ (एनआरएनए)अष्ट्रेलियाको आगामी कार्यकाल(२०२५–२०२७) का लागि अध्यक्ष पदमा सन्तोष कुँवरले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै अध्यक्ष पदका प्रत्यासीको रूपमा निर्वाचनमा होमिन लागेको जनाएका हुन्।
ब्रिसबेन निवासी कुँवर विगत एक दशकभन्दा बढी समयदेखि एनआरएनए अष्ट्रेलियाको विभिन्न तहमा क्रियाशील छन्। अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अष्ट्रेलिया आएका कुँवरले अध्ययनसँगै सामाजिक सेवामा समेत रुचि राख्दै संस्थागत गतिविधिमा सक्रियता जनाउँदै आएका छन्। यही सिलसिलामा उनले सन् २०१५ मा राज्य समन्वय परिषद् (एससीसी) को सचिवको जिम्मेवारी सम्हाल्दै संस्थामा औपचारिक प्रवेश गरेका थिए।
त्यसयता उनी राज्य संयोजक (२०१७–२०१९), अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य (२०१९–२०२१), ओसेनिया क्षेत्रीय उपसंयोजक (२०२१–२०२३) हुँदै हाल महासचिवको भूमिकामा क्रियाशील छन्। एनआरएनएमा बिताएको आफ्नो यात्रालाई उनले “संस्थाको दिगो विकासका लागि समर्पित एक दशक” भनेका छन्।
कुँवरले एनआरएनए अष्ट्रेलियालाई संस्थागत रूपमा बलियो बनाउने, प्रविधिमैत्री बनाउने, आर्थिक पारदर्शिता कायम गर्ने तथा सरकारी संयोजनमार्फत नेपाली समुदायलाई सेवा पुर्याउने काममा आफू निरन्तर क्रियाशील रहेको उल्लेख गरेका छन्। “संस्थालाई प्रविधिमैत्री र जनमुखी बनाउने मेरो प्रयास अब नेतृत्वदायी भूमिकाबाट अघि बढ्नेछ,” उनले सन्देशमा उल्लेख गरेका छन्।
हालका अध्यक्ष अनिल पोखरेलको नेतृत्वमा संस्था थप व्यवस्थित र गतिशील बनेको बताउँदै कुँवरले महासचिवको रूपमा उक्त यात्रामा न्यायपूर्वक भूमिका निर्वाह गरेको दाबी गरेका छन्। “यो सामूहिक प्रयास थियो, जसमा म पनि एउटा अंग थिएँ,” उनको भनाइ छ, “अब नेतृत्वको जिम्मेवारी सम्हाल्दै संस्थालाई अझ प्रभावकारी ढंगले अघि बढाउने अभिप्रायसहित उम्मेदवारी दिएको छु।”
कुँवरले आगामी दुई वर्षका लागि विस्तृत कार्ययोजना तयार भइसकेको जानकारी दिँदै ती योजना क्रमशः भिडियो र पोष्टमार्फत सार्वजनिक गरिने जनाएका छन्। साथै, उनले अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायसँग सल्लाह, सुझाव, समर्थन र सहयोगका लागि आग्रह गरेका छन्।
“संस्थाको भविष्य र प्रभावकारितालाई अझ मजबुत बनाउने हाम्रो साझा जिम्मेवारी हो,” कुँवरले भनेका छन्, “तपाईंहरूको विश्वास र साथले मात्रै यो अभियान सफल हुनेछ।”
कुँवरको उम्मेदवारीसँगै एनआरएनए अष्ट्रेलियाको निर्वाचन प्रक्रिया औपचारिकरूपमा सुरु भएको छ। उनको अनुभव, स्पष्ट कार्यदिशा र निरन्तर सेवा भावनाका कारण उनी आगामी निर्वाचनका प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन्। अब अन्य सम्भावित उम्मेदवारहरूको घोषणा हुन थालेसँगै निर्वाचन अभियान थप चर्किने अपेक्षा गरिएको छ।



