विराटनगर, असार १६
गलत औषधी प्रयोगबाट बिरामीको मृत्यु भएपछि दायर चिकित्सकीय लापरवाहीको मुद्दामा मोरङ जिल्ला अदालतले प्रमाण बुझ्ने आदेश दिएको छ। नोबेल हस्पिटल एण्ड मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा असम्बन्धित चिकित्सकले अनधिकृत रूपमा सिफारिस गरेको औषधीका कारण सुनसरी इनरुवाकी विमला थापा पोखरेलको मृत्यु भएको भन्दै दायर मुद्दाको पहिलो सुनुवाइमा अदालतले सो आदेश दिएको हो।
जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले आइतबार अस्पतालबाट २०८१ साल माघ १० देखि २० गतेसम्मका सम्पूर्ण सक्कल कागजात र मृत्युको कारणसहितको फाइल पेश गर्न निर्देशन दिएको अधिवक्ता मानबहादुर रुम्दाली राईले जानकारी दिए।
अदालतले मृतकको उपचारमा प्रयोग भएको मोर्फिन इएनबी औषधीबारे त्यसको कम्पोजिसन र कुन रोगका लागि औषधी प्रयोग हुने हो भन्ने विवरण नेपाल मेडिकल काउन्सिलबाट माग गर्न समेत आदेश दिएको छ। साथै, मुद्दाका दुवै पक्षका साक्षीहरूलाई बुझी बकपत्र लिन समेत अदालतले आदेश गरेको छ।
फोक्सो तथा श्वासप्रश्वासका विशेषज्ञ डा. रामहरि घिमिरेले ढाडको दुखाइ कम गर्न भन्दै मोर्फिन औषधी दिएकै कारण विमलाको मृत्यु भएको मृतकका पति महेश्वर पोखरेलको दाबी छ। उनका अनुसार डा. घिमिरेले आफूसँग सम्बन्धित नभएको क्षेत्रको औषधी सिफारिस गरेका थिए।
मोर्फिन एक शक्तिशाली पीडानिवारक औषधी हो जसको प्रयोग विशेष गरी हाडजोर्नीको गहिरो दुखाइ वा क्यान्सर जस्ता गम्भीर रोगमा गरिन्छ। तर श्वासप्रश्वासका समस्या भएका बिरामीमा यसको प्रयोग निषेध गरिएको चिकित्सकहरू बताउँछन्। मृतक पक्षको भनाइमा, डा. घिमिरेको विशेषज्ञताको दायरा बाहिर गई औषधी प्रयोग गरिएको हो।
महेश्वर पोखरेलले संविधानको धारा ४२(२) र उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ५० र ५१ अनुसार पाँच करोड रुपियाँ क्षतिपूर्ति माग गर्दै मोरङ जिल्ला अदालतमा गत चैत २० गते मुद्दा दायर गरेका थिए। उपभोक्ता संरक्षण ऐनले चिकित्सा सेवामा लापरवाही भएमा सेवाग्राहीले क्षतिपूर्ति पाउने व्यवस्था गरेको छ।



