सिड्नी, जुन ७ गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५ को निर्वाचन नजिकिँदै जाँदा न्यू साउथ वेल्स (NSW) राज्य संयोजक पदका लागि कोमल पाठकले शनिबार उम्मेदवारी घोषणा गरेका छन्।
सार्वजनिकरूपमा उम्मेदवारी घोषणा गर्दै पाठकले एनआरएनएलाई समावेशी, पारदर्शी र समुदायमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे।
“समुदायको एकता, समृद्धि र संस्थागत मजबुतीका लागि सक्रिय योगदान दिनेछु,” उम्मेदवारी घोषणामा पाठकले भने, “साथ, सहयोग र विश्वासको अपेक्षा राखेको छु।”
पाठक अष्ट्रेलियामा सफल व्यवसायी र सक्रिय समाजसेवीका रूपमा चिनिन्छन्। उनले विगतमा विभिन्न सामाजिक अभियान तथा समुदाय केन्द्रित कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
उनीद्वारा उम्मेदवारी घोषणा गरेपछि नेपाली समुदायमा चुनावी सरगर्मी चुलिएको छ। विभिन्न समूहहरूबीच कोठे बैठक, रणनीति निर्माण र गठबन्धनको प्रयास तीव्र भएको देखिन्छ।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलका अनुसार यसपटक निर्वाचनमा समुदायको सहभागिता उल्लेखनीय देखिएको छ।
“चुनावी चहलपहल तीव्र छ,” उनले भने, “सदस्यता नवीकरण र नयाँ सदस्य बन्नेहरूको चाप पनि दिनप्रतिदिन बढ्दै गएको छ।”
संघले सदस्यता लिन र नवीकरण गर्न सकिने अन्तिम म्याद जुन १५ तोकेको छ। हाल एनआरएनएका विभिन्न तहका अभियन्ता सदस्यता अभियान र प्रचार–प्रसारमा सक्रिय छन्।
यसैबीच अन्य सम्भावित उम्मेदवारहरू पनि आ–आफ्नो तयारीमा जुटिरहेका छन्। उम्मेदवारी घोषणाहरूको क्रम बढ्दै गएकाले निर्वाचन प्रतिस्पर्धात्मक र चासोपूर्ण हुने अनुमान गरिएको छ।



