सिड्नी, मे २८ — अष्ट्रेलियामा नेपाली मूलका मानिसहरू संलग्न आपराधिक गतिविधिहरू बढ्दै गएपछि सरोकारवाला निकायहरू गम्भीर चिन्तित देखिएका छन्। विशेषगरी घरेलु हिंसा, लागुऔषध दुरुपयोग, यौनजन्य हिंसा र हुण्डीजस्ता गैरकानुनी क्रियाकलापहरूको दर बढ्दो रहेको भन्दै सिड्नीमा एक सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो।
‘Safe Steps’ नाम दिइएको उक्त कार्यक्रम नेपाली वाणिज्य दूतावास सिड्नीको आयोजनामा तथा अष्ट्रेलियन नेप्लिज जर्नलिस्ट एशोसिएसन (ANJA) को सहकार्यमा टाउनहलस्थित वाणिज्यदूतावास भवनमा सम्पन्न भएको हो।
कार्यक्रममा न्यू साउथ वेल्स प्रहरी बलका डिटेक्टिभ सर्जन्ट सुदीप स्वारले प्रस्तुत गरेका तथ्यांक अनुसार, न्यू साउथ वेल्स राज्यमा मात्र हरेक महिना १०–१५ जना नेपाली मूलका व्यक्ति गम्भीर आपराधिक अभियोगमा जेल चलान भइरहेका छन्।

“बलात्कार, घरेलु हिंसा, लागुऔषध ओसारपसार, यौन हिंसा जस्ता मुद्दाहरूमा नेपाली युवाहरूको संलग्नता देखिनु चिन्ताजनक छ,” उनले भने, “समुदायको छवि जोगाउन सबैले समयमै जिम्मेवारीपूर्वक कदम चाल्नुपर्छ।”
नेपाली वाणिज्यदूत सञ्जीव शर्माले समुदायमा गैरकानुनी गतिविधि बढ्दै जाँदा समग्र नेपाली पहिचानमा नकारात्मक असर पर्न सक्ने बताउँदै सचेत र एकजुट हुन आग्रह गरे। “समाज सुरक्षित, मर्यादित र सहिष्णु बनाउन यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक छन्,” उनले भने।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले यस्ता सचेतनामूलक अभियानहरूमा संस्थागत रूपमा साथ दिने प्रतिबद्धता जनाउँदै समुदायको सेवामा निरन्तर लागि परेको बताए।
कार्यक्रममा एन्जाका अध्यक्ष कृष्ण तिवारी, संस्थापक पत्रकार हेमन्त काफ्ले, नवाज अध्यक्ष चिरन तिवारी, कर्णाली समाज अष्ट्रेलियाका अध्यक्ष सुमन खत्री, एन्जाका सल्लाहकार डा. राजु मानन्धर, पत्रकार प्रकाश हुमागाईं, केदार रायमाझी लगायत झन्डै तीन दर्जन सहभागीहरूको उपस्थिति थियो।
कार्यक्रमको संयोजन तथा सहजीकरण अष्ट्रेलियन नेप्लिज जर्नलिस्ट एशोसिएसन (ANJA) का महासचिव तथा सिड्नीस्थित नेपाली वाणिज्य दूतावासका सूचना अधिकारी गणेश भट्टले गरेका थिए।। सहभागीहरूले घरेलु हिंसा, लागुऔषध र कानुनी विषयमा जिज्ञासा राखेका थिए, जसको जवाफ प्रहरी अधिकारीले दिएका थिए।









