Monday, April 20, 2026
Zenith Migration Education
Monday, April 20, 2026

९ महिनापछि पृथ्वीमा फर्किए सुनीता र बुचसहित चार अन्तरिक्षयात्री

Zenith Migration Education

अन्तरिक्षमा जम्मा आठ दिन बिताउने उद्देश्य राखेर त्यहाँ गएका नासाका दुई अन्तरिक्षयात्री नौ महिनापछि पृथ्वीमा फर्किएका छन्।

अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रबाट स्पेश एक्स क्याप्सुलमार्फत बुच विल्मोर र सुनीता विलियम्स अनि दुई जना अन्तरिक्ष यात्रीहरू फ्लोरिडाको तटीय क्षेत्र नजिकै १७ घण्टाको यात्रापछि अवतरण गरेका थिए। यी वरिष्ठ अन्तरिक्षयात्रीद्वय नासाकै अर्का सहयात्री निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जेन्डर गोर्बुनोभसँगै फ्लोरिडाको तालहासी नजिकै समुन्द्रमा ओर्लिएका हुन् । उनीहरू मंगलबार साँझ ५ बजेर ५७ मिनेट (नेपाली समयअनुसार बुधबार बिहान ४: ४२ बजे) पृथ्वीमा आइपुगेको नासाले जनाएको छ । उनीहरूको पृथ्वीमा अवतरण र अन्तरिक्षयानबाट बाहिर आउँदै गरेको क्षणको नासाले प्रत्यक्ष प्रसारण गरेको थियो ।

उक्त क्याप्सुलबाट बाहिरिने क्रममा उनीहरू मुस्कुराइरहेको र हात हल्लाइरहेको भिडिओ सार्वजनिक भएको छ।

नासाका अधिकारीहरूले सबैको अवस्था राम्रो रहेको बताएका छन्।

उनीहरू ८ दिनका लागि अन्तरिक्षमा गएकोमा यानमा प्राविधिक खराबी देखिएपछि लामो समय अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमै रोकिनुपरेको थियो ।

सुनीता र बुचको अनपेक्षित लामो अन्तरिक्ष बसाइँका कारण विश्वभरका मानिसहरूमा चासो बढेको थियो । विशेष गरी उनीहरूको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरिएको थियो । स्पेस एक्स ड्रागन क्याप्सुलमार्फत उनीहरू सुरक्षित रूपमा घर फर्किएको नासाले जनाएको छ ।

बुच र सुनीता हात हल्लाउँदै मुस्कुराउँदै स्पेसएक्स ड्रागनबाट बाहिर निस्कएको बीबीसीको लाइभ रिपोर्टिङमा उल्लेख छ । उनीहरूको अन्तरिक्षयान फ्लोरिडाको समुद्रमा अवतरण गर्दा उत्सुक डल्फिनहरूले त्यसलाई घेरेका थिए ।

उनीहरूको आगमनसँगै नासा र स्पेस एक्सले पत्रकार सम्मेलन पनि गरेको थियो । अन्तरिक्षयात्रीहरू भने सम्मेलनमा उपस्थित भएनन् । नासाका अनुसार उनीहरूलाई पृथ्वीको गुरुत्वाकर्षणमा पुनः अभ्यस्त हुन केही समय लाग्नेछ । परिवारसँग भेट गर्नुअघि उनीहरूको स्वास्थ्य परीक्षण हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु